Khabar Out
प्रहरी बनेर ठगी गर्ने थापा मगर पक्राउ

काठमाडौँ । हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

उनले भने, “वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पासमेत भएको हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा यही माघ १५ गते पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र रु पाँच लाख रकम दिएमा दाफुरीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेको अभियोगमा निजलाई पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौँ महानगरपालिका बानियाँटारबाट पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। रासस

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update