Khabar Out
बाँकेमा ८ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइँदै

नेपालगञ्ज । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध ८ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । मंगलबार भएको खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिए।

उनका अनुसार जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल ८ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने छ ।

त्यसमध्ये पनि राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा एक हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, एक हजार १९, जानकी गाँउपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ४२४, डुडुवा गाउँपालिकामा ४४१ र नरैनापुर गाउँपालिकामा ७२१ जनालाई खोप लगाइने छ ।

खास गरी कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु, विद्यालय नजाने १० वर्षीया किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपका लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ ।

“यो खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्छ,” प्रमुख पौडेलले भने । नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको जानकारी दिए ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चिकित्साको क्षेत्रमा ठूलो उपलब्धि भएको उल्लेख गरे ।

जिल्लामा यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update