Khabar Out
विश्व शान्ति र समृद्ध नेपालको नारासहित साइकल यात्रा

महोत्तरी । विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री मंगलबार महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सात जना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् ।

विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडाैँको कीर्तिपुरका बासिन्दा ४० वर्षीय कवि महर्जनले बताए ।

‘वर्ल्ड साइकल टुर क्याम्पियन नेपाल’ संस्थामा आबद्ध यात्रीले आसन्न प्रतिनिधिसभा निर्वाचनबाट मुलुकले राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढोस् भन्ने बाटोमा भेटिएका आम सर्वसाधारणको धारणा पाइएको बताएका छन् ।

आफूहरु आबद्ध संस्थाको १०औँ वर्षगाँठको अवसर पारेर यसपालि ‘नेपाल साइकल यात्रा’ थालिएको टोली नेता महर्जनको भनाइ छ । यात्रामा महर्जनका अतिरिक्त अन्य ६ जना ललितपुरका हुन् । त्यसमा रविन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, निरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्यको सहभागिता छ ।

यात्रीले पूर्वपश्चिम राजमार्ग आसपासका पर्यटकीय र धार्मिक महत्वका स्थलको अवलोकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने लक्ष्य लिएका छन् । बर्दिबास आइपुगेका यात्रीलाई आज बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तमकुमार श्रेष्ठसहितका उद्योगी व्यवसायीले स्वागत गर्नुभयो । यात्रीहरुको टोली आजै बर्दिबासबाट निजगढ पुग्ने टोली संयोजक महर्जनले बताए।

बर्दिबास आइपुगेका यात्रीलाई यहाँका उद्यमी व्यवसायीले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्मको यात्रामा देखिएको चुनावी चहलपहलबारे जिज्ञासा राखेका छन् । यात्रा सम्पन्न गरिएका जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको देखिएको यात्रीले छोटो प्रतिक्रिया व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update