Khabar Out
भक्तपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन, मोबाइलमै रिपोर्ट आउने

भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। २०७५ सालदेखि काभ्रेको धुलिखेलमा सञ्चालन गर्ने तयारी गरिए पनि जग्गा अभावका कारण अन्योलमा परेको यो प्रयोगशाला अन्ततः सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा स्थानान्तरण गरी सञ्चालन गरिएको हो।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले सोमबार आफैँले रगत परीक्षण गराएर प्रयोगशालाको उद्घाटन गरेका छन्। हाल सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयको खाली भवनमा सञ्चालनमा आएको यो ल्याबका लागि सोही क्षेत्रमा ११ करोड रुपैयाँको लागतमा आफ्नै अत्याधुनिक भवन निर्माण प्रक्रिया समेत अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रयोगशालाका लागि ५ रोपनी जग्गा प्राप्त भइसकेको र एक वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न हुने मन्त्री थापाले जानकारी दिए।

यो प्रयोगशालाबाट सरकारी तथा निजी अस्पताल र क्लिनिकहरूमा सङ्कलन भएको रगतको परीक्षण निकै सस्तो दरमा हुनेछ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीका अनुसार यहाँ क्यान्सर जाँच, मिर्गौला, कलेजो, प्याङ्क्रियाज र लिपिड प्रोफाइलसहित ९६ प्रकारका नमुना परीक्षण गर्न सकिनेछ। यसअघि विदेश पठाउनुपर्ने कतिपय जटिल परीक्षणहरू समेत अब यहीँ सम्भव हुने भएको छ।

प्रयोगशालाले प्रविधिको उच्च प्रयोग गर्दै बिरामीका लागि सहज व्यवस्था मिलाएको छ। अब रिपोर्ट लिन पुनः प्रयोगशाला धाइरहनु पर्ने छैन; क्यूआर कोडमार्फत सिधै मोबाइलमै रिपोर्ट पठाउने व्यवस्था गरिएको छ। यसका साथै पीसीआर प्रविधिबाट इन्फ्लुएन्जा, एचआईभी, क्षयरोग (टीबी), एचपीभी र कोभिड लगायतका भाइरस परीक्षण समेत हुनेछ।

धुलिखेलमा जग्गा नपाउँदा विगत लामो समयदेखि करिब ३० करोड रुपैयाँ बराबरका अत्याधुनिक उपकरणहरू थन्किएर बसेका थिए। उपकरण भए पनि स्थान नहुँदा कर्मचारीहरू कामविहीन हुनुपरेको अवस्थामा भक्तपुरमा ल्याब सञ्चालन हुनुलाई ठुलो उपलब्धिका रूपमा लिइएको छ। यो प्रयोगशालाले बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका करिब १ हजार २०० ल्याबको निगरानी, अनुमति र नवीकरणको काम समेत गर्ने मेडिकल ल्याब टेक्नोलोजिष्ट अनीलकुमार यादवले बताए। रासस

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update