मलङ्गवा । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको हो।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधनको आधारमा यो नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले बताए। बाबु विदेशी र आमा नेपाली भएका गुप्ताले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नागरिकता प्राप्त गरेका हुन्। यो सँगै अब जिल्लामा बुबाको अत्तोपत्तो नभएका वा विदेशी बुबा र नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता लिने बाटो खुलेको छ।
नागरिकताविहीनको समस्या हल हुने विश्वास
प्रमुख जिल्ला अधिकारी कँडरियाका अनुसार ऐन संशोधनपछि जिल्लाका २० वटै पालिकामा परिपत्र गरिसकिएको छ। नागरिकता नहुँदा शिक्षा र सीप भएर पनि जागिर खान नपाएका, बैंक खाता खोल्न र सिमकार्डसमेत निकाल्न नपाएका युवाहरूको समस्या अब समाधान हुने अपेक्षा गरिएको छ। प्रशासनको यो कदमले जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानलाई राहत पुग्ने देखिएको छ।
लामो सङ्घर्षपछि नागरिकता पाएका राम मनोहर गुप्ताले आफू आधिकारिक रूपमा नेपाली नागरिक भएकोमा खुसी व्यक्त गरे। नेपालको भूगोलमा जन्मिएर पनि आफूलाई नेपाली प्रमाणित गर्न गर्नुपरेको सङ्घर्ष निकै पीडादायी र चुनौतीपूर्ण रहेको उनले सुनाए। रासस



