चितवन । भिटामिन ‘डी’ शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डीको कमी हुँदा विभिन्न समस्या देखापर्न थाल्छ ।
चिकित्सकका अनुसार, मासु, अन्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ । तर, केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा. कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमीले बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ ।
डा. सापकोटाले भने, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर, आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।”
उनले नवजातदेखि १२ महिनासम्मको शिशुमा दैनिक ४०० युनिट भिटामिन डी आवश्यक पर्ने बताए । वयस्कमा दैनिक १००० युनिट भिटामिन डी आवश्यकपर्ने उनले उल्लेख गरे ।
भिटामिन डीको कमीका कारण विभिन्न लक्षणसहित अस्पतालमा धेरै बिरामी आउने गरेका उनले बताए । “भिटामिन डी पाउने मुख्य स्रोत खानपान र घाम हो । खानपानबाट विशेष गरी मासु, अन्डा तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । अन्य खानेकुराबाट पर्याप्त मात्रा पाउन सकिँदैन । जस्तै, नुनमा आयोडिन मिलाइन्छ, त्यसैगरी फोर्टिफाइड खाना, तेल वा घ्युमा भिटामिन मिसाएर सेवन गर्न सकिन्छ । नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन । साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखापर्छ ।”
उनले थपे, “भिटामिन डीको लागि विशेष गरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम महत्त्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ ।”
उनले घाम ताप्दा सनस्क्रिन र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिए । जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने उनले बताए ।
उनका अनुसार, भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
पर्याप्त भिटामिन डीले क्यान्सर र संक्रमणको जोखिम पनि कम गर्छ । यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बालबालिकामा उचाइ कम, खुट्टा बांगो हुनुजस्ता लक्षण देखापर्ने डा. सापकोटाले बताए । रासस



