Khabar Out
चितवनमा निर्वाचनका लागि २ हजार ९ सय बढी कर्मचारी खटिने

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।

माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् । एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी परिचालन हुनेछन् ।

उनका अनुसार एउटा मतदान केन्द्रमा तीन स्वयम सेवकसमेत परिचालन गरिने छ । मतदान अधिकृतले स्वयम्सेवक परिचालन गर्नेछ । यसबाहेक जिल्लाका दुई स्थानमा अस्थायी मतदान केन्द्र रहने छन् । अस्थायी मतदान केन्द्रमा तीन कर्मचारी र दुईजना स्वयम सेवक खटिने छन् ।

जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्रबाट ती कर्मचारी खटिने छन् । कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ का भन्दा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन् ।

जिल्लाको तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । त्यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी रहेका छन् । रासस

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update