काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा १ बोसनस्थित चम्पादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर र मानसिक विकासका लागि एक नवीन सुरुवात गरेको छ।
विद्यालयमा माघ १२ गतेदेखि १५ गतेसम्म सञ्चालित विशेष शिविरमार्फत सम्पूर्ण शिक्षक(शिक्षिका र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई भावातीत ध्यान (Transcendental Meditation) प्रदान गरिएको छ।
नेपाल महर्षि वैदिक फाउण्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीको आन्तरिक चेतना विकासमा जोड दिएको छ।
चेतनामा आधारित शिक्षाको आधारभूत विधि मानिने यस ध्यानले विद्यार्थीहरूको एकाग्रता बढाउन र मानसिक तनाव कम गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाको विशेष उपस्थितिमा ४ दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा ध्यान सिकाउनका लागि प्रशिक्षकहरू भरतराज पौडेल, बसुन्धरा पन्थी र भुपेन्द्र निराजनले सहजीकरण गरेका थिए। त्यसैगरी कायक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले चेतनाको विकास बिनाको शिक्षा अपूर्ण हुने र विद्यार्थीलाई भित्रैबाट शान्त र सृजनशील बनाउन भावातीत ध्यानले मेरुदण्डको काम गर्ने बताए ।
४ दिनसम्म चलेको कार्यक्रमको समापन समारोह भव्य रुपमा आयोजना गरिको थिायो । सो अवसरमा विद्यालयको तर्फबाट फाउण्डेसनका अध्यक्ष बास्कोटालाई सम्मान पत्र प्रदानसगै विद्यालय परिवारले आफ्नो शिक्षण संस्थामा चेतनाको दियो बाल्न सहयोग पुर्याएकोमा फाउण्डेसनप्रति आभार प्रकट गरेको छ।
मानसिक एकाग्रता, तनाव व्यवस्थापन र शैक्षिक स्तरमा सुधारका आयोजना गरिएको उक्त विशेष भावातीत ध्यान कार्यक्रममा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थी र शिक्षक शिक्षिकासगै कर्मचारीहरुको पनि सभागिता रहेको थियो ।



