पर्सा । नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ ।
वीरगञ्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्सा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सहकार्यमा सीमा सौन्दर्यकरण र सीमा सुरक्षा पोष्ट तयार पारिएको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सीमा सुरक्षा पोष्टको उद्घाटन गर्दै अबदेखि सीमा सुरक्षा पोष्ट व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिने बताए।
“हामीले केही महिनादेखि निरन्तर रूपमा मितेरीपुल वरपर सीमा सौन्दर्यकरणको काम गर्दै आइरहेका छौँ । अहिले यहाँ हिँड्ने जो कोहीले पनि फरक अनुभूति गर्न सक्नुहुनेछ”, उनले भने, “स्वच्छ र हरियाली वीरगञ्ज बनाउने अभियानमा सरिक भएर लाग्न जरुरत भइसकेको छ ।”
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा सौन्दर्यकरण गरेसँगै हेर्दा हरियाली र व्यवस्थित देखिएको बताए । रासस



