Khabar Out
जलस्रोत तथा उर्जा विज्ञ पत्रकार थापा सम्मानित

काठमाडौं ।  जलस्रोत तथा उर्जा विज्ञ पत्रकार विकास थापा सम्मानित भएका छन् । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आफ्नो सातौं वार्षिक साधारण सभाका अवसरमा आज शनिबार बुटबलमा आयोजित कार्यक्रममा जलसरोकार डट कमका प्रधान सम्पादक समेत रहेका थापालाई सम्मान गरेको हो । 
थापाले पत्रकारिताको माध्यमबाट मुलुकको जलस्रोत र ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको कदर सम्मान गरिएको कम्पनीले जनाएको छ ।
‘देश र समाज परिवर्तनका लागि पत्रकारिताको माध्यमबाट पुर्याएको महत्वपूर्ण योगदानका साथै भिजन लुम्बिनी ऊर्जा कम्पनीप्रति सधैं गरेको योगदानको उच्च मूल्यांकन गर्दै ससम्मान यो सम्मान पत्र प्रदान गरिएको छ,’ थापालाई दिइएको प्रशंसा पत्रमा भनिएको छ ।
कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले थापालाई प्रशंसा पत्र दिएका थिए भने कम्पनीका प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले दोसल्ला ओढाएका थिए । 

तीन दशकदेखि पत्रकारकारिता गर्दै आएका थापाले विशेष गरी जलस्राेत, जलविद्युत् तथा ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
यसैगरी जलविद्युत् राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारीलाई पनि भिजन लुम्बिनी ऊर्जा कम्पनीले सम्मान गरेको छ ।
नेपालमा निजी क्षेत्रबाट पहिलो जलविद्युत् निर्माण गरी जलविद्युत्मा निजी क्षेत्रलाई प्रवेश गराउन उनले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । 
सम्मानित भण्डारीले भिजन लुम्बिनी ऊर्जा कम्पनीको सम्मानले आफूलाई अझ बढी जिम्मेवार तुल्याएको बताए । 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update