Khabar Out
पत्रकार विकास थापाको ‘नेपालको जलविद्युत् : असफलताको राजनीति’ पुस्तक सार्वजनिक

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा देखिएका नीतिगत कमजोरी, संरचनागत समस्या र राजनीतिक असफलतामाथि केन्द्रित पत्रकार विकास थापाको नयाँ पुस्तक ‘नेपालको जलविद्युत् : असफलताको राजनीति’ सार्वजनिक भएको छ ।

जलसरोकार डटकमका प्रधान सम्पादक थापाद्वारा लिखित पुस्तक शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । पूर्वजलस्रोत मन्त्री, प्राज्ञ तथा जलस्रोतविद् दीपक ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपाने, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, ऊर्जा उद्यमी मोहन विक्रम डाँगी, वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापा र पुस्तकका लेखक विकास थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै पूर्वमन्त्री ज्ञवालीले पुस्तकमा उठाइएका विषयहरू वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । जलविद्युत् क्षेत्रका धेरै समस्या लामो समयदेखि समाधान हुन नसकेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व र नीति निर्माणमा संलग्न व्यक्तिहरूले पुस्तक अध्ययन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद न्यौपानेले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको जलविद्युत् क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार भइरहेको बताए । नेपालले ३० हजार मेगावाट जलविद्युत् उत्पादन तथा आयोजना निर्माणको लक्ष्य अघि सार्दा सुरुदेखि नै स्पष्ट गुरुयोजना आवश्यक पर्ने उनको भनाइ थियो । वन अनुमति लगायतका प्रक्रियागत समस्या समाधान गर्न सरकारले विभिन्न कानुनी व्यवस्था अघि बढाइरहेको उनले जानकारी दिए ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. धितालले पुस्तकले जलविद्युत् क्षेत्रका गम्भीर समस्यामाथि प्रश्न उठाउँदै विकासका लागि आवश्यक बहस र मार्गदर्शन प्रदान गर्न सक्ने बताए । त्यस्तै, इप्पानका अध्यक्ष डाँगीले निजी ऊर्जा उत्पादकहरूले भोग्दै आएका समस्या सार्वजनिक गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पुस्तकले निजी क्षेत्रका चुनौतीलाई उजागर गरेको बताए ।

पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापाले नेपालको जलविद्युत् क्षेत्रमा विद्यमान असंगति र कमजोरीलाई पुस्तकले स्पष्ट रूपमा प्रस्तुत गरेको बताए । ती समस्याको सुधारका लागि आवश्यक दिशाबोध गराउनु पुस्तकको महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो । जलविद्युत् क्षेत्रको विषय ऊर्जा उत्पादनमा मात्र सीमित नभई समग्र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको उनले उल्लेख गरे ।

लेखक विकास थापाले पत्रकारिताका क्रममा प्राप्त अनुभव, ज्ञान र सूचनालाई समेटेर पुस्तक तयार पारेको बताए । नेपालको जलविद्युत् क्षेत्रलाई नीति, संस्थागत संरचना र भूराजनीतिक परिस्थितिले कुन दिशातर्फ अघि बढाइरहेको छ भन्ने विषय पुस्तकको मुख्य केन्द्र रहेको उनले जानकारी दिए । पुस्तकमा प्रस्तुत विषयवस्तु आगामी पुस्ताका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य, सरकारी सचिव तथा पूर्वसचिव, ऊर्जा क्षेत्रका सरकारी निकायका अधिकारी, नेपाल विद्युत् प्राधिकरणका वर्तमान तथा पूर्वपदाधिकारी, पत्रकार, ऊर्जा उद्यमी, निर्माण व्यवसायी र परामर्शदाता संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

पत्रकार थापाले यसअघि २०६८ सालमा ‘नेपालमा जलविद्युत्’ पुस्तक प्रकाशित गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update