Khabar Out
सिरहामा ‘तीन तारे’ नमुना विद्यालय बनाउन पूर्वाधार निर्माण गरिँदै

सिरहा । खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधायुक्त मापदण्ड पुरा गरी यहाँको गोलबजार नगरपालिका–८ स्थित जनता नमूना माध्यमिक विद्यालयलाई ‘तीन तारे’ नमूना विद्यालय बनाउने लक्ष्यसहित पूर्वाधार विकास गर्न थालिएको छ ।

गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको संयुक्त साझेदारीमा विद्यालयमा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी, साबुन पानीसहितको हातधुने सुविधा निर्माण तथा विस्तार गरिएको हो ।

विद्यालयलाई सुरक्षित, स्वच्छ र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस परियोजनामा ‘वेल्थ हङ्र हिल्फ’को आर्थिक सहयोगमा परियोजनातर्फबाट रु १४ लाख ६७ हजार र विद्यालयतर्फबाट रु १९ लाख ६६ हजार गरी कूल रु ३४ लाखभन्दा बढी लगानी गरिएको छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छताका न्यूनतम मापदण्ड पूरा गर्दै हाल विद्यालयलाई दुई तारे नमूना विद्यालय घोषणा गरिएको छभने भविष्यमा तीन तारे विद्यालय बनाउने लक्ष्य लिइएको छ ।

तीन तारे विद्यालयका लागि खानेपानी, शौचालय, सफा र हरियाली वातावरण, महिनावारी स्वच्छता व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहितालगायतका १० वटा निश्चित सूचक पूरा गर्नुपर्ने व्यवस्था छ ।

विद्यालयका प्रधानाध्यापक ब्रहमदेवप्रसाद सिंहले कार्यक्रमको प्रभाव विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा स्पष्ट देखिएको बताउँदै भने, “सबल नेपालको सहकार्यपछि विद्यालयको वातावरण पूर्णरूपमा परिवर्तन भएको छ । सरसफाइ मात्र होइन, विद्यार्थीको बानी–व्यवहार, अनुशासन र स्वच्छताप्रतिको चेतनामासमेत उल्लेखनीय सुधार आएको छ । अब विद्यालय परिवारको साझा लक्ष्य तीन तारे नमुना विद्यालय बन्ने हो ।”

विद्यालयमा हाल एक हजार १५५ विद्यार्थी अध्ययनरत छन् भने ४८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । रासस

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update