Khabar Out
किन आकासिदै छ बलिउड फिल्म निर्माण लागत

नयाँ दिल्ली । निजी ट्रेलरको फ्लीट, व्यक्तिगत शेफ, ठूला सहयोगी टोली र विलासी सुविधाजस्ता बलिउडका शीर्ष कलाकारको बढ्दो मागले फिल्म निर्माण लागत आकासिएको छ । यसले भारतीय फिल्म उद्योगको वित्तीय संरचनामा गहिरो दबाब सिर्जना गरिरहेको उद्योगका जानकारहरूले बताएका छन् ।

बलिउड लामो समयदेखि नै बक्स अफिसमा अनिश्चित रहँदै आएको छ । महामारीले अवस्था झन् जटिल बनाएको भए पनि धेरै निर्माता र वितरकहरूका अनुसार आज देखिएको घाटा रचनात्मक असफलताभन्दा बढी स्टार शुल्क र तिनसँग जोडिएका अतिरिक्त खर्चका कारण भएको हो । निर्माता रमेश तौरानीका अनुसार समस्या उत्पादन लागतभन्दा पनि कलाकारले लिने पारिश्रमिक र सुविधामा केन्द्रित छ ।

उद्योगका अनुसार आजकल अभिनेता–अभिनेत्रीहरू मेकअप आर्टिस्ट, हेयरड्रेसर, स्टाइलिस्ट, जिम प्रशिक्षक र सहायकसहित १० देखि १५ जनाको टोली लिएर सुटिङ स्थलमा पुग्ने गरेका छन् । यसका अतिरिक्त प्रथम श्रेणीको यात्रा, पाँचतारे होटल, अलग–अलग भ्यानिटी भ्यान र सीमित कार्यघण्टाजस्ता माग सामान्यजस्तै भइसकेका छन् । एक मात्र ट्रेलर भाडाको लागत नै करिब १८ हजार अमेरिकी डलरसम्म पुग्ने बताइन्छ ।

वरिष्ठ निर्माता मुकेश भट्टले विस्तारित सहयोगी टोली, महँगो यात्रा र विलासी आवासले रचनात्मक नतिजामा समानुपातिक योगदान नदिई बजेट बढाइरहेको टिप्पणी गरे । उनका अनुसार यस्ता मागहरू धेरै हदसम्म ‘अप्रिय’ बन्दै गएका छन् । व्यापार विश्लेषक राज बंसलले भने कलाकारहरूबीच सुविधामा प्रतिस्पर्धा बढ्दै जाँदा खर्च झनै बढेको बताए । 

बलिउडलाई सधैँ उच्च जोखिमको उद्योग मानिँदै आए पनि अहिले स्टार–केन्द्रित लागत बक्स अफिस आम्दानीले धान्न नसक्ने स्तरमा पुगेको निर्माताहरूको भनाइ छ । महामारीपछिको समयमा स्ट्रिमिङ प्लेटफर्महरूले महँगो मूल्यमा फिल्म किन्दा केही राहत मिलेको थियो, तर ती सम्झौता घटेसँगै आम्दानी खस्कियो । यसबीच कलाकारहरूको माग भने घटेन, जसले समस्या अझै गहिरो बनायो ।

प्रतिस्पर्धी वातावरण पनि बदलिएको छ । दर्शकको रुचि परिष्कृत भएको, स्ट्रिमिङ प्लेटफर्मले विकल्प बढाएको र क्षेत्रीय सिनेमाले स्तर उकासेको भट्टको भनाइ छ । उनका अनुसार फिल्म कमजोर नभए पनि बढ्दो उत्पादन लागत, विशेष गरी स्टार शुल्कले अर्थतन्त्र असन्तुलित बनाइरहेको छ ।

अभिनेता तथा निर्माता आमिर खानले पनि यस विषयमा सार्वजनिक रूपमा आलोचना गरेका छन् । उनले एक अन्तर्वार्तामा करोडौँ कमाउने कलाकारहरूले निर्मातामाथि अत्यधिक बोझ थोपर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आत्मसम्मानको कुरा गरे । 

उद्योगका जानकारहरूका अनुसार स्टारहरूको मागले क्यास्केडिङ प्रभाव पार्दै अरू कलाकारलाई पनि उस्तै सुविधा माग्न प्रेरित गर्छ । यसबाट बच्न संसाधनलाई कथावस्तु र कथा कथनको गुणस्तरतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिइएको छ । केही निर्माताहरूले जोखिम र नाफा साझा गर्ने साझेदारी–आधारित मोडेल अपनाउनुपर्ने धारणा अघि सारेका छन् ।

सन् २०२४ मा बनेको ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ कमजोर प्रदर्शन गरेपछि निर्माताले ऋण तिर्न सम्पत्ति बन्धक राख्नुपरेको समाचार पनि सार्वजनिक भएको थियो । यद्यपि केही अपवाद पनि छन् । अभिनेता कार्तिक आर्यनले सन् २०२३ को असफल फिल्म शहजादाका लागि आफ्नो शुल्क नलिएको उदाहरण दिइन्छ ।

कतिपय निर्माता भने समस्या उद्योगकै निर्णयमा रहेको बताउँछन् । अभिनेता तथा निर्माता विवेक वासवानीका अनुसार अत्यधिक शुल्कले बजेट बिगार्छ भने त्यस्ता स्टारसँग काम नगर्नु नै उत्तम हुन्छ । उनले नयाँ कलाकारसँग बनेका सफल फिल्महरूको उदाहरण दिँदै ‘यदि तपाईँलाई आफ्नो स्टार स्क्रिप्टभन्दा बलियो लाग्छ भने, त्यो सोच नै गलत हो’ भने । रासस

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update