काठमाडाैँ । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा ३ जनालाई बिहीबार पक्राउ गरेको छ।
प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २ सय किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा राखी घटनाको थप अनुसन्धान गर्न समय मागिएको छ ।
वन्यजन्तु अधिकारीहरूले बताएअनुसार जनावरलाई आगो लगाउनु अघि पहिले गोली हानिएको थियो र घाइते बनाइएको थियो । आक्रमणबाट घाइते भएका हात्तीलाई बचाउने पशु चिकित्सा सर्जनहरूको प्रयास असफल भएको थियो।
श्रीलङ्कामा हात्तीलाई पवित्र मानिन्छ र यहाँको कानूनद्वारा उनीहरूको संरक्षणका लागि स्पष्ट निर्देशन गरेको छ तर किसान र दुर्गम गाउँका बासिन्दाहरूले कहिलेकाँही बाली नष्ट गर्ने जङ्गली हात्तीहरूलाई आक्रमण गर्ने गरेका घटना सार्वजनिक हुनेगरेका छन् ।
श्रीलङ्काको कानुनअनुसार संरक्षित हात्तीको चोरी सिकारी गर्ने जोकोहीलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ, तर देशले सन् १९७६ देखि मृत्युदण्ड दिएको छैन र मृत्युदण्डको सजाय स्वतः आजीवन कारावासमा परिणत हुन्छ ।
पछिल्लो पाँच वर्षमा बढ्दो मानव हात्ती द्वन्द्वका कारण वर्षेनी ४०० हात्ती र २०० जनाको ज्यान जाने गरेको छ।
श्रीलङ्कामा अनुमानित सात हजार जङ्गली हात्तीहरू छन्, जसलाई बौद्ध संस्कृतिमा उनीहरूको महत्त्वका कारण राष्ट्रिय सम्पत्तिको रूपमा लिइन्छ। रासस



