Khabar Out
बङ्गलादेशमा ट्रकले ठक्करबाट पाँच जनाको मृत्यु

ढाका ।  बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र गतिमा आएको ट्रकले बसबाट ओर्लिएर सडक किनारमा बसिरहेका यात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी इस्लामका अनुसार ढाका–चट्टोग्राम राजमार्गअन्तर्गत सिताकुन्डामा एउटा बसमा प्राविधिक खराबी आएपछि यात्रुहरू गाडीबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका थिए । सोही क्रममा मङ्गलबार बिहान करिब १ः३० बजे दुर्घटना भएको हो ।

“तीव्र गतिमा आएको ट्रकका चालकले नियन्त्रण गुमाउँदा यात्रुहरूको समूहलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो,” उनले सिन्ह्वालाई बताए ।

उनका अनुसार अन्य दुई जनाको अस्पताल लैजाने क्रममा वा अस्पताल पुगेपछि मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसका अन्य चार यात्रुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update