Khabar Out
गलत सूचना फैलाएको भन्दै ब्रिटेनद्वारा रुसी र चिनियाँ संस्थामाथि प्रतिबन्ध

काठमाडौं । ब्रिटेनले मंगलबार रुस र चीनसँग जोडिएका केही संगठनहरूमाथि कडा प्रतिबन्ध लगाएको छ । यी संगठन तथा कम्पनीहरूले ‘सूचना युद्ध’को माध्यमबाट झूटो जानकारी फैलाएर पश्चिमी देशहरूलाई कमजोर पार्ने प्रयास गरिरहेको ब्रिटेनको आरोप छ ।

ब्रिटेनकी विदेश मन्त्री यभेट कूपरले रुस र चीनजस्ता ‘दुर्भावनापूर्ण देश’हरूले सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग गरेर गलत सूचना फैलाइरहेका, जनमतलाई प्रभावित गरिरहेका तथा लोकतान्त्रिक देशहरूमा हस्तक्षेप गर्ने रणनीति अपनाइरहेको बताइन् ।

रुससँग जोडिएका संगठनहरूमा टेलिग्राम च्यानल ‘रयबार’ र विदेशमा बसोबास गर्ने नागरिकहरूको अधिकारको समर्थन र संरक्षणका लागि गठन गरिएको एक फाउन्डेसन समावेश छन् । इस्टोनियाको गुप्तचर एजेन्सीका अनुसार यो जीआरयू (रुसी सैन्य गुप्तचर एजेन्सी)को फ्रन्ट संगठन हो ।

यसमा तेस्रो संगठन ‘भू–राजनीतिक विशेषज्ञता केन्द्र’ हो, जुन दक्षिणपन्थी रुसी लेखक अलेक्जेन्डर दुगिनको पक्षबाट सञ्चालन गरिन्छ ।

यस सूचीमा चीनका दुई कम्पनीहरू पनि समावेश छन् । ती कम्पनीहरूले ‘तीव्र र अन्धाधुन्ध साइबर गतिविधि’ सञ्चालन गर्दै ब्रिटेन तथा उसका सहयोगी देशहरूलाई निशाना बनाइरहेको आरोप लगाइएको छ ।

विदेश मन्त्री यभेट कूपरले रुस सैन्य मोर्चामा मात्र नभई सामाजिक सञ्जाल र इन्टरनेटमा पनि युद्ध छेडिरहेको बताइन् ।

उनका अनुसार रुसको तर्फबाट सामाजिक सञ्जालमा झूटो सूचनाको बाढी, एआईबाट तयार पारिएका नक्कली भिडियोहरू, पश्चिमी देशहरूमा चुनावलाई प्रभावित गर्ने प्रयास तथा युक्रेनको समर्थन कमजोर पार्न प्रचार अभियानजस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

उदाहरणका रूपमा, ब्रिटिस अधिकारीहरूले मोल्डोभाको चुनावमा नक्कली राजनीतिक वेबसाइटहरू र विज्ञापनहरू सञ्चालन गरिएको तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी पत्नीबारे गलत सूचना फैलाइएको बताएका छन् ।

लोकार्नो सन्धिहरूको सय वर्ष पूरा भएको अवसरमा बोल्दै कूपरले यी सन्धिहरू प्रथम विश्वयुद्धपछि युरोपमा शान्ति स्थापनातर्फ एक महत्वपूर्ण कदम रहेको बताइन् ।

उनले आज पनि अन्तर्राष्ट्रिय सहयोग त्यत्तिकै आवश्यक रहेको तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट पुराना गठबन्धनहरूमाथि प्रश्न उठ्दा चिन्ता बढेको उल्लेख गरिन् । एबीसीन्युज

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update