Khabar Out
कसरी उत्पति भए बुढानिलकण्ठ र राजाले किन गर्दैनथे दर्शन ? 

-राधाकृष्ण कटवाल

काठमाडौं । पवित्र देवभूमि हरिहर क्षेत्र नेपाल देशको राजधानी काठमाण्डौंको उत्तरखण्ड शतरुद्रेश्वर महादेव, पशुपतिनाथको समीप शिवपुरी पहाडको फेदीमा अवस्थित हिन्दूहरुको आस्थाको केन्द्र पवित्र भूमि नारायण स्थानको रुपमा परिचित छ । यस पवित्र भूमिमा बूढानीलकण्ठ भगवान विराजमान भई भक्तहरुको मनोकामना पूर्ण गर्दै आउनु भएको छ । विष्णुमति र वाग्मती नदीको मध्यभागमा विराजमान बूढानीलकण्ठ भगवानको दर्शन गर्दा सम्पूर्ण पापहरु नाश हुने, सुख शान्ति प्राप्त हुने, नवग्रह शान्ति हुने, धन सम्पत्ति बढ्ने, रोग, शोक नाश भई परिवारमा सुखै–सुख, आनन्दै–आनन्द प्राप्त हुने हुँदा यहाँ स्वदेशी तथा विदेशी दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । दैनिक सयौंको संख्यामा दर्शनार्थीहरुको भिड् लाग्ने गरेको बूढानीलकण्ठमा कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको छ । सो समयमा हजारौंको संख्यामा भक्तजनहरु हरिहर भगवानको दर्शनका लागि आउने गर्दछन् । लाखौं भक्तजनका ढुकढुकी रहनु भएका हरिहरदेव बूढानीलकण्ठ भगवानलाई नारायण पनि भनिन्छ । नाम भगवान शिवको छ भने भक्तहरुले भगवान नारायणको रुपमा बूढानीकण्ठ भगवानको पूजा आराधना गर्दै आएका छन् । यस विषयमा धेरै स्वदेशी तथा विदेशी भक्तजनहरुको जिज्ञासा रहदै आएको छ । कहिलेदेखि भगवान यहाँ विराजमान हुनुहुन्छ ? भगवान बूढानीलण्ठको उत्पत्ति भएको हो या कसैले स्थापना गरेको हो ? यी जिज्ञासाको समाधान गर्न यसै विषयमा खोज तथा अनुसन्धान गर्ने जमर्को गरेका छौं ।

शास्त्रमा उल्लेख भए अनुसार बूढानीलकण्ठ भगवानको उत्पत्ति नै भएको हो । द्वापर युगमा सूर्यकेतु नामका राजाले शिवपुरी नगरीमा राज्य गर्दथे । उनी प्रत्येक दिन भगवान बद्रिनाथ र केदारनाथको दर्शन गर्न जाने गर्दथे । यसै व्रmमका राजा वृद्ध हुदै गएका थिए । एक दिन राजाले भगवान बद्रिनाथ र केदारनाथ सामु प्रार्थना गर्दै भनेछन्— प्रभु ! मैले हजुरकोे दर्शन विना अन्न, जल ग्रहण गर्ने गरेको छैन । म बृद्ध हुदै गएकोले दैनिक हजुरहरुको दर्शन गर्न आउन निकै कठिन हुदै गएको छ । हजुरहरुको दर्शनमा आउन नसक्ने हुनाले आफ्नो नगरीमा अन्न, जल त्याग गरेर प्रभुको स्मरणमा प्राण त्याग गर्नेछु । यस्तो राजाको प्रार्थना सुनी भगवान् प्रसन्न हुनु भयो र भन्नुभयो— राजन् ! भोलिबाट तिमी यहाँ आउनु पर्दैन तिम्रो भक्ति–भाव देखेर हामी अत्यन्त प्रसन्न भयौं । त्यसैले भोलिबाट तिमीलाई हामी तिम्रै नगरीमा दर्शन दिनेछौं । 

भगवानको यस्तो आज्ञा पछि राजा खुसी हुदै नगरीमा फर्के । उता भगवानले विश्वकर्मालाई बोलाएर मूर्ति बनाउन लगाउनु भयो । विश्वकर्माले संकल्प गर्नुभयो । उहाँको संकल्प सिद्ध थियो । संकल्पबाट सम्पूर्ण विश्व ब्रह्माण्ड नै तत्काल रचना गर्नसक्ने विश्वकर्मालाई भगवानको मूर्ति रचना गर्न असजिलो भएन । संकल्पबाट तत्कालै भगवानको विग्रह तयार भयो । त्यसै रातमा भीमसेनले ल्याएर यस शिवपुरी नगरीमा स्थापना गर्नुभयो । मूर्ति स्थापना हुना साथ मूर्तिमा नै साक्षत् हरिहर भगवान प्रकट हुनुभयो । भगवान आउनु भएको थाहा पाई भोलिपल्ट बिहानै राजा भगवानको दर्शन गर्न आए । तर राजालाई भगवानको स्वरुप देखी चित्त बुझेन । भगवानको स्वरुप न बद्रिनाथको जस्तो थियो न केदारनाथको जस्तो । बूढानीकण्ठको स्वरुप बद्रिनाथ, केदारनाथ दुवै भगवानसँग मेल नखाएपछि कतै मेरो व्रतभंग गर्न षड्यन्त्र भएको त होइन भन्ने सोचेर राजा सूर्यकेतु भगवानसँग विवाद गर्न लागे— प्रभु ! यो स्वरुप न बद्रिनाथ जस्तो छ न केदारनाथ जस्तो मैले यो स्वरुपमा कुन भगवान मानेर दर्शन, पूजा गर्ने ? भगवानले भन्नु भयो— राजन् ! म तिम्रो प्रार्थनाबाट प्रसन्न भई यहाँ तिम्रै नगरीमा दर्शन दिन आएको हुँ । यो स्वरुप एकातिर शिव र अर्को तिर विष्णुको रहेको छ, जुन बद्रि र केदारकै स्वरुप हो ।

भगवानका कुरामा राजाको चित्त बुझ्दैन । जति सम्झाउदा पनि राजा नमाने पछि भगवानले रिसाउदै भन्नुभयो— राजन् ! यदि तिमिलाई यो हरिहर स्वरुपमा विश्वास छैन भने तिम्रो कुनै पनि सन्तानले मेरो दर्शन गर्ने छैनन् भन्दै सराप दिनु भयो । सोही बेलादेखि नेपालका राजपरिवारले बूढानीलकण्ठ भगवानको दर्शन गरेका छैनन । यो द्वापरयुगको अन्त्य समयको कुरा थियो । युगको अन्तमा प्रलय हुने गर्दछ । द्वापरयुगको समाप्ति पछि प्रलय भयो । प्रलयमा संसार नै पानी पानीको समुन्द्र बन्यो । पृथ्वीको समय जति हुन्छ त्यति नै प्रलयकालको समय हुन्छ । द्वापरयुगको ८ लाख ६४ हजार वर्ष आयु थियो र प्रलयकाल पनि त्यति नै समय रह्यो । पछि कलिको प्रारम्भ हुनु थियो र त्यसका लागि पृथ्वीको उद्धार भयो र कलियुगको प्रारम्भ भयो ।

काठमाडौंमा बूढानीलकण्ठ

पहिला काठमाण्डौं पोखरीको रुपमा थियो । भगवान श्रीकृष्णले सुदर्शन चक्रद्वारा चोभारको पहाड काटेर पानी जाने ठाँउ बनाएपछि विस्तारै मानव वासस्थानमा परिणत हुदै गएको हो । इतिहासमा मञ्जुश्रीले चोभारको पहाड काटेको पाइए तापनि काठमाडौं जलमग्न भएपछि श्री कृष्णले सुदर्शन चक्रद्वारा पहाडलाई छेडी पानी निकासा गरिएको शास्त्रमा उल्लेख भएको पाइन्छ । यो स्थानमा भगवान पशुपतिनाथ, माता गुह्येश्वरी, भगवान बूढानीलकण्ठ लगायत हजारौं पुण्यतीर्थहरु रहेका कारण सत्ययुगदेखि नै यस स्थानलाई महत्वपूर्ण मानिन्थ्यो । सोही कारणले नै भगवान श्रीकृष्णले पहाड छेडेर पानी निकास गर्नु भएको हो । त्यसपछि मानव वस्ती बाक्लिदै गयो । खेती–पाती हुन थाल्यो । खेती गर्ने क्रममा भगवान बूढानीलकण्ठ रहनु भएको स्थानलाई धान झार्ने खलोको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । त्यस ठाउँमा जति धान झा¥यो, त्यति कम हुन्थ्यो भने टाढा–टाढाबाट ल्याएर धान थुपार्दा दोब्बर, तेब्बर बढी हुन्थ्यो । यो अवस्था निकै लामो समय चल्यो । यस्तो आश्चार्य देखेर धान झार्ने एक किसानलाई साहै्र खुल्दुली भयो कि यहाँ नजिकैबाट धान ल्याएर झार्दा कम हुने तर टाढाका मान्छेले धान ल्याएर राख्दा त्यसको दोब्बर, तेब्बर हुने । यहाँ पक्कै पनि केही रहस्य हुनुपर्छ भनी ती किसानले स्थानियलाई जम्मा गरी सल्लाह गरे । सबैको सल्लाहले त्यहाँ खनेर हेर्ने भन्ने निष्कर्ष निक्लियो । सबै किसानहरु जम्मा भएर खन्न थाले । खन्दै जाँदा एक किसानको कोदालीको चोटबाट सो ठाउँमा रगत बग्न थाल्यो । रगत बगेको देखेर किसानहरु डराई बिस्तारै हातको माध्यमबाट खोर्सन थाले । खोर्सदै जाँदा त्यहाँ भगवानको दिव्य स्वरुप प्रकट भयो ।

विष्णुको नाम कसरी हुन गयो नीलकण्ठ ?

नीलकण्ठ नाम शिवको हो तर यहाँ भगवान विष्णुको स्वरुपमा विराजमान हुनुहुन्छ । कसरी हुन पुग्यो त विष्णुको नाम बूढानीलकण्ठ ? जसको प्रहारबाट रगत आएको थियो ती किसान साहै्र चिन्तित भए । मबाट ठूलो गल्ती भयो भनेर किसानले भगवान सामु बिलौंना गर्न थाले । किसानको बिलौना सुनेर भगवानले ती किसानलाई भन्नु भयो— तिमीले जानेर गरेको गल्ती होइन, चिन्ता नगर । कलि प्रारम्भ भइसकेको छ । म यहाँ द्वापर युगदेखि छु । प्रलयकालमा पृथिवीको गर्भमा दबेर बसे । म बाहिर प्रकट हुन चाहन्थे । तिमीले खन्यौं राम्रो भयो । कलियुगमा भक्तहरु नास्तिक हुन्छन् । नास्तिक भएपछि संसार चल्न गाह्रो हुन्छ । यसैका लागि म प्रकट हुन चाहन्थे । तिमी यसमा दुःखी नबन । तिमीलाई यदि शंका छ भने तिम्रो नामबाट मेरो प्रसिद्धि गर । ती किसानको नाम नीलकण्ठ थियो । त्यसैले तिनैको नामबाट नीलकण्ठ भनेर भगवानको नाम राखियो । उनी वृद्ध हुदै गएपछि भगवानको नाम पनि बूढानीलकण्ठ हुन गयो । वास्तवमा यो मूर्ति विष्णुको नभै हरिहर स्वरुप हो अर्थात् बद्रिनाथ (विष्णु) र केदारनाथ (शिव) हो । झट्ट हेर्दा विष्णु जस्तै देखिने मूर्ति नियालेर ध्यानपूर्वक हेर्ने हो भने हरिहर स्वरुप मै हुनुहुन्छ । यो मूर्तिको ३ हातमा शंख, चक्र, गदा र १ हातमा भस्मको गोला छ । विष्णु भगवानको हातमा शंख, चक्र, गदा र पद्य (कमल) हुनुपर्छ । तर यहाँ पद्य हुनुपर्ने ठाँउमा भस्मको गोला रहेको छ । पाखुरामा नाग बेरिएको छ । विष्णु भगवानले कहिल्यै पनि नाग धारण गर्नुहुन्न । नागले बेर्ने भनेको भगवान शिवलाई हो । एक हातमा भएको भस्मको गोला र पाखुराहरुमा बेरिएका नागले के प्रमाणित हुन्छ भने यो मूर्ति विष्णु भगवानको मात्र नभै हरिहर स्वरुप नै हो ।

सोह्र वर्षभन्दा माथिकाले पूजा गर्न किन हुँदैन

यस पवित्र भूमिमा भगवान जहिलेदेखि विराजमान हुनु भयो त्यसैबेला देखि नै भगवानको आज्ञा अनुसार षोडशोपचार विधिले पूजा हुदै आएको । भगवानको मूर्तिमा माथि नै चढेर पूजा गर्नु पर्ने हुनाले यहाँ १६ वर्षभन्दा तलका वेदपाठी ब्राह्मण कुमारलाई मात्र पूजाको अनुमति दिइएको छ । १६ वर्ष सम्मका कुमारहरु निष्पाप र साक्षात् भगवानको नै स्वरुप हुने हुनाले १६ वर्ष भन्दा माथिकालाई पूजामा भगवानले निषेध गर्नु भएको हो । यहाँ प्रातःकाल ४ बजे भगवानलाई जगाएर स्नान गराई भक्तजनहरुको लागि दर्शन खुला गरिन्छ । त्यसपछि ६ बजे देखि ७ बजेसम्म अखण्ड दुधको धाराले हरिहर स्वरुप भगवानको विग्रहमा अभिषेक गरिन्छ । प्रातः ठीक ७ः३० बजे नित्य पूजन प्रारभ्म गरिन्छ । परापूर्व कालदेखि नै भगवानको पूजा षोडशोपचार विधिले हुदै आएको छ ।

राजाले किन गर्नु हुँदैन दर्शन ?

राजा सूर्यकेतु र भगवान्को विवादको समयमा राजालाई भगवानले धेरै पटक सम्झाउदा पनि नमाने पछि हरिहर भगवानले म प्रति विश्वास छैन भने तिम्रो कुनै पनि सन्तानले मेरो दर्शन गर्ने छैनन् भन्ने सराप दिनु भएको थियो । भगवानले सराप दिएपछि कुनै राजाले पनि भगवानको दर्शन गरेका थिएनन । तर यो कुरालाई राजा प्रताप मल्लले मानेनन् । प्रताप मल्लले त्यसको वेवास्था गर्दै हरिहरको दर्शन गर्न आए । यो कुरा भगवान हरिहरले थाहा पाउनु भयो र नागलाई भन्नु भयो— यो अटेरी भक्त मेरो दर्शन गर्न आउदै छ । त्यसलाइ मेरो दर्शन गर्न नदिनु बाटोमा नै रोकिदिनु ।  भगवानको निर्देश पछि नाग गएर बाटो मै राजा प्रताप मल्ललाई रोक्दै दर्शन गर्न निषेध गरे । यता राजा प्रताप मल्लले पनि यदि मैले दर्शन गर्न नपाउने भए तिमीले पनि आजबाट भगवानको दर्शन पाउने छैनौ । तिमीलाई अन्धो हुनु परोस् भन्दै सराप दिई राजा दरबारमा फर्किए । अहिले पनि हामी देख्न सक्छौं मन्दिरको दक्षिण भागमा एउटा ठूलो पिपलको रुख छ । रुखसँगै भगवानको मन्दिरबाट आएको जल बग्ने गर्दछ ।  राजाका सरापका कारणले अन्धो भएका नाग भगवान भएको ठाँउमा जान नसकी त्यही हुनुहुन्छ । यहाँको नियम छ कि भगवान बूढानीलकण्ठको दर्शन गर्नु अगाडी नागको आज्ञा लिनु पर्दछ । अन्य मन्दिरहरुमा पहिला गणेश भगवानको आज्ञापछि अन्य मूल इष्टदेवको दर्शन गरिन्छ । तर यहाँ नागको आज्ञा लिएर मात्र बूढानीलकण्ठ भगवानको दर्शन गरिन्छ । यो प्रचलन राजा प्रताप मल्ललाई बाटो छेक्न गएका नागलाई अन्धो होस् भन्ने सराप दिएपछि शुरु भएको हो ।
राजा प्रताप मल्ल अति नै धर्मात्मा थिए । राजा सूर्यकेतु पछि भएका राजाहरुमा उनी जस्तो ध्यान, धर्ममा लाग्ने कुनै राजा थिएनन् । उनैको पालामा राजधानी लगाएत देशै भरका मठ मन्दिरको निर्माण र संरक्षण भएको पाइन्छ । धेरै ध्यान, धर्म गर्ने भएपछि प्रताप मल्लको वाक्य सिद्ध जस्तै थियो । राजा प्रताप मल्ल पछिका राजाले पनि अहिलेसम्म हरिहरदेव बूढानीलकण्ठको दर्शन गर्ने दुःसाहस गरेका छैनन् ।

जीवित भगवान कसरी बन्नु भयो निर्जीव ?

राजा प्रताप मल्लले जिद्दीगरी आफ्नो दर्शन गर्न आएको र नागले बाटो छेक्दा नागलाई नै अन्धो होस् भन्ने सराप दिएका कारणले नाग अन्धो भई फर्केर आउन नसकेको कुरा भगवान बूढानीलकण्ठले थाहा पाउनु भयो । भगवानले विचार गर्नुभयो अब कलि बढ्दै गए जस्तो छ । मान–मर्यादा, नीति–नियम, राम्रो–नराम्रो को ख्याल कसैलाई पनि छैन यो सबै कलिको प्रभाव हो । अब यसरी स–शरीर रहन सम्भव हुदैन भनेर चलायमान रहेको बूढानीलकण्ठ भगवानको स्वरुप मूर्ति रुपमा रहन थाल्नु भयो । ईश्वर उसलाई भनिन्छ— कर्तुम् अकर्तुम् अन्यथाकर्तुं सक्षम ईश्वरः । अर्थात् गर्न योग्य पनि गर्छ, नगर्न योग्य पनि गर्छ, असम्भवलाई पनि सम्भव बनाएर देखाँउछ त्यहि ईश्वर हो । त्यहि महान् हो, त्यहि शक्ति हो र हामीले उनैको पूजा गर्ने हो ।
कलि बढ्दै गएको थाहा पाएपछि साक्षत् दर्शन दिनुहुने भगवान निर्जीव अर्थात् शालिग्राम पत्थरको रुपमा रहनु भयो । आजको वैज्ञानिक युगमा ढुङ्गाको मूर्ति पनि कतै साक्षात् भगवान हुन सक्छन भन्ने नास्तिक जनहरुको जमात पनि त्यत्तिकै छ । तर भगवान हरिहरको मूर्ति साक्षात् नै हो । यसको प्रमाण हो जमिन खन्दा निक्लेको रगत र छाँया दर्शन । यहाँ जसरी भगवान शयन गर्नु भएको छ, ठीक त्यसको तल्लो भागमा माथिकै स्वरुप देख्न पाइन्छ । जुन कुराले आजको विज्ञानलाई पनि चुनौति दिएको छ । यहाँ विराजमान हुनुभएको भगवान बूढानीलकण्ठको मूर्तिको विषयमा धेरै अनुसन्धानहरु भए तर कसैले पत्ता लगाउन सकेका छैनन । यस्तो एउटै शिलामा बनेको विशाल अलौकिक हरिहर भगवान्को मूर्ति विश्वमा कहि पनि छैन । अन्य स्थानमा रहेका मूर्ति पछि बनाइएका हुन भने यो मूर्ति कसैले बनाएको होइन । द्वापर युगको अन्तमा उत्पत्ति हुनु भएको साक्षात् हरिहरको स्वरुप हो । अतः साक्षात् हरिहर स्वरुप भगवान बूढानीलकण्ठको दर्शन गरि आफ्नो जीवन धन्य बनाऔं । अस्तु । 

यस्तो छ भगवान् बूढानीलकण्ठको पूजा विधि र परम्परा

षोडशोपचार पूजा विधिको व्रmम यस प्रकार रहेको छ । १. आवाहन, ध्यान, २. आसन, ३. पाद्य (जल), ४. अघ्र्य, ५. आचमनीय (जल), ६. स्नान ( स्नानको व्रmममा शुद्ध जलले स्नान गराई भगवानको विग्रहमा पञ्चामृतले स्नान गराइन्छ । पञ्चामृत स्नान गराउदा दूध, दही घ्यू मह चिनीले क्रमशः स्नान गराइन्छ । प्रत्येक स्नान पश्चात् चाँदीको घडाद्वारा शुद्ध जलले पनि स्नान गराइन्छ ।), ७. वस्त्र (भगवानलाई पीताम्बर वस्त्र पाउदेखि कण्ठसम्म पहिराइन्छ), ८. यज्ञोपवीत (जनै धारण गराइन्छ । यसै व्रmममा भगवानको विग्रहमा विविध आभूषणद्वारा श्रृङ्गार पनि गरिन्छ ।), ९. चन्दन (भगवानलाई श्रीखण्ड चन्दन, रक्त चन्दन र जौ तिल अर्पण गरिन्छ ।), १०. पुष्प, पुष्पमाला (भगवानलाई विभिन्न प्रकारका सुगन्धित पूmल, मालाहरु तथा तुलसी अर्पण गरिन्छ साथै भगवानको वाँया भागमा लक्ष्मीको पूजा गरेर सौभाग्य अर्पण गरी अङ्गपूजा गरिन्छ), ११. धूप (भगवानलाई विभिन्न प्रकारका सुगन्धित धूपहरु अर्पण गरिन्छ ।), १२. दीप (भगवानलाई गाईको शुद्ध घ्यूमा भिजाइएको बत्ति अर्पण गरिन्छ ।), १३. नैवेद्य (भगवानलाई घ्यूमा पकाइएको नैवेद्यका साथै विभिन्न प्रकारका फलहरु अर्पण गरिन्छ ।), १४. ताम्बूल (भगवानलाई पान, मसला, नरिवल अर्पण गर्नुका साथै द्रव्य दक्षिणा अर्पण गरिन्छ ।), १५. प्रदक्षिणा (भगवानलाई जलले प्रदक्षिण गराई निराजन आरतीका साथै चमर तथा मयूर पंखा अर्पण गरिन्छ ।), १६. पुष्पाञ्जली (भगवानलाई विविध पुष्पहरु अर्पण गरिन्छ ।) अन्तिममा भगवानको क्षमा प्रार्थना गरी प्रातःकालको नित्यपूजा समाप्ति गरिन्छ । 

पूजा पश्चात् भगवानको टीका प्रसाद मठाधीश महाराजले शिर पुजारीबाट ग्रहण गरिसकेपछि मठाधीश महाराजबाट सम्पूर्ण भक्तजनहरुलाई टीका प्रसाद लगाई आशीर्वाद दिने प्रचलन परापूर्व कालदेखि नै चलि आएको छ । नित्य पूजाको समयमा भक्तजनहरुलाई मन्दिर भित्र प्रवेशको लागि निषेध गरिएको छ । तर भगवानको नित्यपूजामा सहभागि हुन चाहने भक्तजनहरुलाई दर्शनको लागि प्रवेश दिने गरिएको छ ।  दिउँसो ३ बजे भगवानलाई स्नान गराई सरसफाइ गरिन्छ । सन्ध्याकालीन समयमा मन्दिर भित्र १०८ पालामा बत्ति बालेपछि भगवानको आरती गरिन्छ । आरती पश्चात् भगवानलाई शयन गराई मन्दिरका द्वारहरु बन्द गरिन्छ । यहाँ विशेष पर्वहरु वैशाख सक्रान्ति, वैशाख शुक्ल पूर्णिमा, जनै पूर्णिमा, कार्तिक शुक्ल द्वादशी तथा पूर्णिमामा भगवानको विशेष श्रृङ्गार गरी पूजा गर्ने प्रचलन चलि आएको छ । पूजा विधि आदिमा केहि त्रुटि हुन गएमा मठाधीश महाराजलाई भगवानद्वारा स्वप्नमा निर्देशन हुने गरेको पाइन्छ ।

यहाँको सम्पूर्ण पूजाको व्यवस्था बूढानीलकण्ठ मन्दिर दशनामी मठले नै गर्दै आएको छ । यहाँको दशनामी मठमा पहिलेदेखि नै मठाधीशको व्यवस्था गरिदै आएको छ । यहाँ आदि जगद्गुरु शंकराचार्यद्वारा प्रतिपादित दशनामी परम्परामा ब्राह्मण कुलबाट आएको श्रोत्रीय ब्रह्मनिष्ठ आवाल ब्रह्माचारी विद्वान् सन्यासी नै मठाधीश हुने परम्परा अनादिकाल देखि चल्दै आएको छ । सो परम्पराको  निर्वहन वर्तमानमा श्रोत्रिय ब्रह्मनिष्ठ आवाल ब्रह्मचारी श्री १००८ स्वामी निगमानन्द महाराजले गर्दै आउनु भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update