Khabar Out
सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

अमेरिका बस्दै आएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको महादेव विद्यालयका प्रधानाध्यापक सरिता रावतले जानकारी दिइन् ।

प्रायः गाउँका निम्न आय स्रोत भएका बच्चाहरू पढ्ने गर्छन् । विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक (ट्रयाक सुट) र टिसर्ट वितरण गरिएको समाजसेवी अम्मर विष्टले बताए ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले आफूले यहाँका दुईवटा विद्यालयमा पोसाक प्रदान गरेको विष्टले बताए ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबीच पोसाकले एकरूपता ल्याउने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाले बताए । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने वडाध्यक्ष जङ्गबहादुर बस्नेतले बताए ।

वडाध्यक्ष बस्नेतले भने, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ ।” उनका अनुसार विद्यार्थीलाई पोसाकको कारण अब असहज हुने छैन । वडाले शैक्षिक सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update