Khabar Out
अन्तर्राष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्छ : प्राध्यापक केसी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा.खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तरराष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा.केसीले जेनजी आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना गरेको बताए ।

पछिल्लो पुस्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्रनीतिको महत्त्वबारे बुझाउनुपर्ने धारणा उनले राखे ।  ‘राजनीतिक दल र नेताहरूले जनताप्रति गरेको अपारदर्शी व्यवहारको आक्रोशित रुपबाट जेनजी आन्दोलन जन्मिएको हो’, उनले भने, ‘तर, युवाले अन्तरराष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनैतिक महत्त्वबारे बुझ्न जरुरी रहेको देखेको छु । र युवालाई यसबारे बुझाउनु हाम्रो दायित्व पनि हो ।’

प्राध्यापक डा.युवराज सङ्ग्रौला र पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा.चन्द्रलाल पाण्डे जेनजी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा.सङग्रौलाले जेनजी पुस्ताले चाहेको रुपान्तरणलाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिए । डा.पाण्डेले भने जेनजी आन्दोलन समग्र समाजले भोग्दै आएको असन्तुष्टिको नतिजा रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय अस्तित्व बलियो बनाउनतर्फ पनि कूटनीतिक सम्बन्धको चर्चा गर्न आवश्यक रहेकामा जोड दिए । पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रहरूमाथि टिप्पणी गरे । 

डा.हरिप्रकाश चन्दले अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यका बारेमा धारणा राखे । उनले विगतदेखि शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्दै अन्तर्राष्ट्रिय कूटनीतिक विज्ञसँग साझेदारी गर्न आवश्यक रहेको बताए ।

‘परराष्ट्रनीतिमा त्यससँग सम्बन्धी विज्ञमाझ छलफल र वैचारिक विमर्श हुन जरुरी छ’, उनले भने, ‘तर, हामीले परराष्ट्र नीतिलाई खासै महत्त्व दिएको पाइँदैन ।’

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विद्यावारिधी (पिएचडी) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्ताले देशलाई अन्तर्राष्ट्रियस्तर अब्बल बनाउने ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि देखाउन थालेका बताए । कार्याक्रममा अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख अपेक्षा शाह पनि उपस्थित रहेका थिए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update