
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। यस केन्द्रले नेपालमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयले यस केन्द्रसँगै विद्यार्थीहरूको सुविधाका लागि 'केयु-कनेक्ट' नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेका अनुसार, सूचना प्रविधि केन्द्रले जटिल अनुसन्धानका लागि 'सुपरकम्प्युटिङ क्लस्टर' सञ्चालन गर्ने, राष्ट्रिय एआई नीति कार्यान्वयन गर्ने, र भूकम्प, महामारीजस्ता आपतकालीन अवस्थामा सहयोग प्रणालीको विकास गर्नेछ ।
नयाँ मोबाइल एप 'केयु-कनेक्ट' ले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्नेछ। यस एपमार्फत विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रमा तत्काल पहुँच, परीक्षा परिणाम, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध लगायतका सेवाहरू उपलब्ध गराइएको छ ।
उपकुलपति वाग्लेका अनुसार, एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिकाजस्ता विषयमा समेत सहजता ल्याउनेछ । रासस