
काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनामा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि रु १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा रु १४ अर्ब ९६ करोड थियो ।
चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई रु २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार अर्ब ७७ करोड थियो । रासस