
काठमाडौँ । नेपाली महिला फुटबलमा जति पनि खेलाडी छन्, ती सबैमध्ये रेखा पौडेल भिन्न छिन् । छोटो कपाल, फुटबल खेलाडी हुन सुहाउँदो शरीर । एकछिन उनीसँग कुरा गर्नुपर्छ । लाग्छ, खुबै भलाद्मी छिन्, नम्र भई विस्तारै बोल्छिन् ।
मीठो हाँसोकी धनी छिन् । तर यिनै रेखा, मैदानभित्र के प्रवेश गर्नुपर्छ, उनको भाउभाउ फेरिन्छ । व्यक्तित्व नै अर्कै हुन्छ । रेखाले मैदानमा पेस गर्ने फुटबलको शैली भनेको ‘आक्रामक’ हो । टिमको अनुकूलताका लागि डटेर खेल्ने खेलाडी हुन् उनी । त्यो पनि लडाकु पाराले । गोल गर्ने त उनको कामै भयो । अहिलेका लागि उनी राष्ट्रिय टिमको हुलबाट छुटिएर फेरि आफ्नो छुट्टै परिचय बनाउने प्रयासमा छिन् ।
अहिले नै रेखाको चर्चा चाहिँ किन ? किनभने नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २९ मा पोखरामा गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ की उनी एक महत्वपूर्ण पात्र हुन् । त्यो अर्थमा भन्दा अवार्डको पिपल्स च्वाइस विधाकी प्रतिस्पर्धी हुन् । यो अवार्डको स्थापना जुन सोचले भएको थियो, त्यसका लागि खुबै मिल्ने परिचय छ रेखाको ।
जति बेला पिपल्स च्वाइसको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक भयो, त्यतिबेला उनी आफै कार्यक्रममा सहभागी थिइन् । सबैको ध्यान उनतर्फ थियो । बोल्ने पालो जब आयो । सबैभन्दा पहिले भनिन्, खेलाडी भएको हुनाले खासै बोल्न आउँदैन । जति बोलिन् । यिनलाई खेल्नमात्र होइन, बोल्न पनि खुब आउँछ ।
भन्थिन्, ‘मेरो लागि त नाम पर्नु पनि ठूलै हो । मेरो त सपना पूरा भएको छ ।’ साँच्चै उनी राम्रो खेल्छिन् । पछिल्लो समयकी राष्ट्रिय फुटबल टिमकी नायक हुन् रेखा । धेरैलाई काठमाडौंमा भएको पछिल्लो महिला साफ च्याम्पिनयसिपको सम्झना धुमिलिएको छैन होला । त्यो सम्झनामा स्पष्ट अगाडि आउने अनुहार हो, रेखा । उनी नै त्यस प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
त्यसमा उनले कुल ७ गोल गरेकी थिइन् । त्यसमध्ये श्रीलंकाविरुद्ध एकै खेलमा ५ गोल थियो । नेपालका लागि उनले समग्रमा ११ गोल गरिसकेकी छन् । घरेलु फुटबलमा उनले एक समय एपीएफ क्लबबाट खेलिन् । एक समय पुलिसबाट । स्पोर्ट्स उडिसाबाट पनि उनले भारतमा व्यावसायिक फुटबल खेलिसकेकी छन् । पछिल्लो समय उनी अबुधाबी कन्ट्री क्लबसँग जोडिएकी थिइन् ।
त्यही टिमका लागि खेल्ने क्रममा रेखाले यूएईको महिला लिगको उपाधि त जितिन् र एएफसी वुमन्स च्याम्पियन्स लिगमा पनि गोल गरिन् । लाओसको योङ एलिफेन्टसविरुद्धको त्यो प्रदर्शनपछि उनी त्यो प्रतिष्ठित प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । खासमा यो प्रतियोगिता खेल्ने पनि उनी नै पहिलो नेपाली खेलाडी हुन् । यो आफैमा ठूलो उपलब्धि थियो, ऐतिहासिक रूपमा धेरै पछिसम्म पनि सम्झिने खालकै ।
यो सबै सुन्दा लाग्दैन र रेखा ‘पिपल्स च्वाइस अवार्ड’ विजेतालाई योग्य छिन् भनेर । छिन् नै । त्यसैले उनलाई जिताउने हो भने नेपाली फुटबलप्रेमीले गर्नुपर्ने काम भनेको डिजिटल वालेट खल्ती आईएमईमा गएर मत दिने नै हो । विजेता खेलाडी चयनका लागि यसको ५० प्रतिशत मतभार हुनेछ । बाँकी मतभार खेल पत्रकार, मुख्य प्रशिक्षक र सामाजिक सञ्जालको रहनेछ । रासस