Khabar Out
प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्छ: प्रहरी महानिरीक्षक

कर्णाली । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्ने बताएका छन् । 

सुर्खेतको भेरीगंगा नगरपालिका १२, छिन्चुस्थित सोमबा इलाका प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले यो सुविधा सम्पन्न भवन ढुङ्गा र सिमेन्टबाट बनेको संरचना मात्र नभई नागरिकको विश्वास र आस्थाको केन्द्र बन्ने बताए ।

उनले भने, “देशैभरि २३५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू छन्, जसमा बेलायती सरकारको सहयोगमा नेपाल प्रहरीका अहिलेसम्म ५८ वटा प्रहरी सेवा केन्द्रले बनेका छन् । यसका लागि बेलायत सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” रु तीन करोड ३५ लाख ३२ हजार लागतमा बनेको भवन अपाङ्गतामैत्री रहेको उनको भनाइ छ । 

भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्याप्त पुँजी, प्रविधि र मानव दक्ष जनशक्ति भए मुलुकलाई धेरै योगदान गर्न सक्ने बताए। कर्णालीमा लागुऔषध, सवारी दुर्घटना, जातीय विभेद, बालविवाह र घरेलु हिंसा विद्यमान रहेको जनाउँदै उनले यसको नियन्त्रण तथा निराकरणका लागि नेपाल प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा पुष्पराज शाही, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, बेलायती सरकारका प्रतिनिधि साईमन पिटरलगायतले आफ्नो भनाई राखेका थिए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update