काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित ट्राफिक नियन्त्रण आधारभूत तालिमको १५७ औँ समूहको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार भएर परिचालित हुन निर्देशन दिएका हुन् ।
प्रमुख काफ्लेले सवारीसाधनको चाप बढ्दै गएकाले सडकमा हुने सम्भावित दुर्घटना रोक्न तथा नागरिकको सुरक्षाका लागि ट्राफिक प्रहरी थप सक्रिय हुनुपर्नेमा जोड दिए । उनले ट्राफिक प्रहरी कर्मचारीलाई आफूलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गरे ।
तालिमबाट प्रशिक्षार्थीको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालिममा हासिल गरेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । रासस







