
कैलाली । कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, वेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे । दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन् । मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे ।
घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिन्छिन् । उनी भन्छिन्, “रोपाइँ सकिने बित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।”
स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै छ । उनी भन्छिन्, “पहिले तीजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम आफ्नै आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गए, मनको बोझ बिसाउने ठाउँ हराए ।”
समय फेरियो । मादलको स्थान ‘साउन्ड सिस्टम’ र आधुनिक सङ्गीतले लियो । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराएको कैलाली जिल्ला समन्वय प्रमुख टीका चौधरी भुल बताउँछिन् । पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु थिए ।
स्थानीय ६५ वर्षीय मैती बुढाथोकीले विगत सम्झँदै भनिन् , “माइत जान पनि तीज नै कुर्नुपर्थ्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो । मादल मुजुरा जस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिनै मुस्किल पर्छ ।”
पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठुलो परिवर्तन आएको छ । भड्किलो दुई अर्थी शब्दहरूको प्रयोग बढेको घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी बताउँछिन् । चौधरीले भनिन्, “मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त देखिन छाडियो ।”
मौलिकता हराउँदै जाँदा सबैभन्दा ठुलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर मादल बनाउने र बजाउने पेसा सङ्कटमा परेको छ । लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी भन्छिन्, “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो । मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्नै गाह्रो छ ।”
तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ । अघिल्लो वर्ष पनि आयोजना गरेको पालिकाले यस वर्ष सोमबार तीज प्रतियोगिता आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने नगरपालिकाका प्रमुख खड्क रावत बताउँछन् । रासस