Khabar Out
जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर । कृष्णपुर नगरपालिका– १ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो । 

सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताए । उनका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ । 

हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पुर्याएको उनले जानकारी दिए ।

सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएको नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताए । ‘यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ’, उनले भने, ‘वर्षमा अम्रिसोबाट मात्रै रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पुर्याएको छ ।’ 

सामुदायिक वनको आम्दानी गुमेको उनले बताए । सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँ ठाउँमा तोडेको छ । 

सामुदायिक वनको अम्रिसो खाँदै हात्ती बस्तीमा छिर्ने गरेको स्थानीय मदन नेपालीले बताए । ‘हात्ती नियन्त्रणका लागि माग गर्दै आएका छौँ’, उनले भने, ‘सरोकार भएका निकायले अहिलेसम्म चासो दिएका छैनन् ।’ तत्काल हात्ती नियन्त्रणको पहल गर्न उनले सबैलाई आग्रह गरे । रासस

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update