Khabar Out
आजको मौसम :  देशभर साधारणतया बदली रहने

काठमाडौँ । आज देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्‌हरूले जनाएका छन्।

जल तथा मौसम विज्ञान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसकारण आज देशभर साधारणतया बदली रहनेछ।

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रासस

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update