हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले कर्णाली करिडोरमा यात्रा गर्न कठिन भएको हो ।
सर्केगाड गाउँपालिका–१ जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको यात्रा तीन दिनमा पूरा गरेपछि सडकको अवस्थाप्रति आक्रोश व्यक्त गरेका छन् । वर्षौंदेखि सडक निर्माण तथा स्तरोन्नतिका नाममा बजेट खर्च भए पनि सुरक्षित यात्रा गर्न नपाएको उनको गुनासो छ ।
नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो । तर, सडकको दयनीय अवस्थाले यात्रु तथा मालसामान ढुवानीमा समस्या भइरहेको छ ।
सर्केगाड–१ खच्चामा होटल व्यवसाय गर्दै आएका डिलबहादुर कार्कीले सडक स्तरोन्नति नहुँदा यात्रुले सास्ती भोग्नुपरेको बताए । स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको जोखिमपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
सडकको अवस्थाले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य उपचार र आपतकालीन आवतजावतमा समेत कठिनाइ भइरहेको स्थानीयको भनाइ छ । जोखिमपूर्ण स्थानमा बनाइएका काठे तटबन्धलगायत संरचनाको गुणस्तर र बजेट खर्चको प्रभावकारितामाथि पनि प्रश्न उठाइएको छ ।
स्थानीयवासीले सडकको नियमित मर्मतसम्भार, पहिरोको जोखिम न्यूनीकरण र स्तरोन्नतिका लागि प्रभावकारी कदम चाल्न सङ्घीय तथा प्रदेश सरकारसँग माग गरेका छन् । रासस







