Khabar Out
चितवनमा चोरी गर्न बालबालिकाको प्रयोग बढ्दो

चितवन । चितवनमा गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसुर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यान मार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई,सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एक जना बालक पक्राउ गरी कारबाही गरिएको हो ।

प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ । विशेष गरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो ।

उनले भने, ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।’ लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसुर/अभद्र व्यवहारसमेत  बालबालिकालाई प्रयोग  गर्ने गरेको उनले बताए ।

चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । । उनले भने- ‘चोरीका मुद्दामा तराई मूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाई समेत पक्राउ गरी कारबाही गरिएको छ ।’ रासस

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update