पाँचथर । निरन्तरको वर्षापछि पाँचथरको नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक अवरुद्ध भएको छ । सडकमाथि पुल निर्माण हुन बाँकी रहेकामा यसअघि खोलाबाट सवारीसाधन पार गरिन्थ्यो । निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि आज अपराह्नदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले वर्षाका कारण पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जनाएको छ । साथै पानीको बहाव घटनासाथ पूर्ववत् अवस्थामा सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज मात्रै ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको एउटा बस खोलामा फसेको थियो । स्थानीयवासी रोशन कार्कीका अनुसार स्थानीयवासी र प्रहरीले यात्रुको उद्धार सकुशल गरेका थिए । अकस्मात सडक अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको उनले बताए ।
तमोर कोरिडोरले द्रूतमार्गका रूपमा पूर्वी पहाडलाई तराईसँग जोडेको छ भने राजधानी काठमाडौँ जानसमेत सहज भएकाले यो सडकको प्रयोग बढिरहेको कार्कीले बताए ।







