
जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारबाट निको भएको बताइएको छ ।
लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ।
अभियान अन्तर्गत हालसम्म प्रदेश भरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ। मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्र मार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ । रासस