
भक्तपुर । नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायणवासीलाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको हो ।
चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबिच चार जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नगरपालिकाको तर्फबाट प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको नगर कार्यालयले जनाएको छ ।
हस्ताक्षरपछि आजै नगरप्रमुखले दुवैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने सहमति भएको बताए ।
महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति भएको जानकारी दिँदै उनले थप कोटामा अरू स्थानीयलाई यसै वर्षदेखि अध्यापन गराइने जानकारी दिए ।
महाविद्यालयले भर्नाका लागि आवेदन खुला गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका आफैँले सूचना प्रकाशित गरी आवेदन माग गरेको हो । रासस