Khabar Out
भोजपुर खोक्सिकमा केन्द्रीय विद्युत् पहुँच

भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युत्को पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।

विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए ।

“यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ” उनले भने, “यहाँ शून्य अवस्थाबाट विद्युत्को काम थालेर विस्तारको अन्तिम चरणमा पुर्‍याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ।”

केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँ देखीको टुकी बत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयवासी दिलकुमार योगीले बताए । पुस्तौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । 

“हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ” उनले भने, “विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अँध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।”

दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा  बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ ।

“विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ” उनले भने, “विद्युत् विस्तारपछि हामी धेरै खुसी छौँ। विद्युत्ले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।” रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update