चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले बिहीबारसम्म आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ आज (बिहीबार) देशभरका ८१ वटा हलका ३८९ भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ । जुन अहिलेसम्मको सबैभन्दा बढी शो पाउने चलचित्र बनेको छ । यसअघि ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको हो । चलचित्रले आक्रामक कलेक्सन गरिरहेको छ ।सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।