
डा.सुरेन्द्र सिटौला
यो सृष्टि प्रकृति किन एक्लै हास्छ
म संगै प्रिय भै किन माया गास्छ
रुदैन कहिल्यै यो ब्रम्ह घरोहर
सधै खुसी देख्छु आफैमा मनोहर
निरन्तर छ निष्काम कर्मैमा व्यस्त
मधुशाला भित्र यता म छु मस्त
कुनै भाषा छैन निःशब्द उ बोल्छ
मेरै जिवनको रहस्य उ खोल्छ
भन्छ म अनन्त म सिमा विहिन छु
तिमी भित्रै म छु अत्यन्तै मिहिन छु
त्याहा देश छैन न त धर्म नै छ
फरक धार्मिक किल्लाको न त मर्म नै छ
त्याहा छैनन् शत्रु तिमी विरुद्ध
निजि युद्ध लड है आफै विरुद्ध
उ भन्छ भत्काउ अभिमानी किल्ला
बचाइ आफ्नै स्वाभिमानी बिल्ला
भन्छ म निराकार तिमी भित्रै हुन्छु
तिमी मेरो वारिस तिम्रै कुरा सुन्छु
जब बल्छ तिम्रो चिताको ज्वाला
साछि म बस्छु म तिम्रै निराला
भन्छ म शुन्य तिमी मेरो आकार
तिम्रै कर्म चिरागले हुन्छु म साकार
जीव शुन्यतामा टुहुरो घरा हो
तिमी नहुदामा उ बाझो गह्रा हो
देख्छु जलेका फरक धार्मिक ज्वाला
विर्स्यो कि जगतले मेरो पाठशाला
भन्छ म नै हुँ निर्विकल्प धर्म
मिथ्या सबै हुन फरक धार्मिक कर्म
म पञ्चतत्व तिमि मै रमाए
चिराग चेतनाको तिमी मै चढाएँ
म ब्रम्ह ज्ञान तिमी सृष्टि मेरो
सृष्टि तिमी नै यो सेरो फेरो
झल्यास्स म भएँआज्ञा सिरोपर
सुनि चेतनाको यो ब्रम्ह घरोहर
अनन्त छ सुन्य फगत छु म एक्लै
सृष्टि म भित्रै अब हुन्न बेग्लै