-विष्णु लुइटेल, वरिष्ठ अधिवक्ता
नेपालको राजनीति लामो समयदेखि अस्थिर छ । शासन व्यवस्था सधैं तरंगित भइरहन्छ । त्यसैले पनि यहाँ आजसम्म राजनीतिक स्थायित्व कायम हुन सकेको छैन। २०१५ सालको दुई तिहाइ पनि टिक्न सकेन। बहुमतका सरकारहरूले पनि पूर्ण कार्यकाल काम गर्न सकेको देखिएन। कमजोर संयन्त्रका कारण जनताले दुःख पाइरहेकै छन्। यो अस्थिरताको सामना कतिञ्जेल गर्ने ? प्रत्येक दशकमा राजनीति फेरिने क्रम जारी छ। जनताले यो चक्रबाट कहिले मुक्ति पाउलान् ? के अबको नेतृत्वले यो समस्या बुझ्ला ? कि फेरि देशमा अर्को क्रान्ति होला ? दुई तिहाइको दम्भले लोकतन्त्र कमजोर त बन्ने होइन ? अहिले फेरि विवादित आयोगका प्रतिवेदन कार्यान्वयनमा हतारो देखिएको छ। जसले पुनः राजनीतिक अस्थिरताको संकेत गर्दछ।
विरासतको खोजी, भविष्यको चिन्ता : नागरिक अधिकारका लागि २००३ माघ १२ र १३ मा भेला भयो। कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो। २००५ सालमा प्रजातन्त्र कांग्रेसको गठन गरियो। २००६ सालमा दुवै पार्टी एक भए। टाइगर सिनेमा हलमा एकताको घोषणा भयो। यसै पार्टीको अगुवाइमा २००७ को क्रान्ति भयो। राजा र जनता मिलेर राणा शासन ढाले। १०४ वर्षको निरंकुश शासन अन्त्य भयो। विश्वका कतिपय देश त्यतिबेला पराधीन थिए। नेपालले भने आफ्नै मौलिक पहिचान बनाउँदै थियो। इतिहासको यो विरासत निकै गौरवशाली मानिन्छ। तर आज विकासको गति निकै सुस्त छ।
विश्व परिवेश, हाम्रो कुरूप चित्र : नेपाली राजनीतिमा धेरै राजनेताको योगदान छ। बीपी कोइराला र सुवर्ण शमशेर अविस्मरणीय छन्। गणेशमान सिंह र पुष्पलाल श्रेष्ठको त्याग ठूलो छ। मनमोहन अधिकारी र मदन भण्डारीले बाटो देखाए। इतिहासको कालखण्डमा यी नामहरू अग्रपंक्तिमा छन्। प्रजातन्त्रका लागि सहिदले रगत बगाएका छन्। वीर वीरंगानाको बलिदान अतुलनीय र पूजनीय छ। तर राजनीतिक स्वतन्त्रताले मात्र पेट भरिँदैन। भोको पेटले सिद्धान्त र भाषण बुझ्दैन। शरीर ढाक्न कपडा र बस्न बास चाहिन्छ। देश आर्थिक रूपमा समृद्ध हुन जरुरी छ। जनता २००७ सालदेखि नै आशावादी छन्। छिमेकी राष्ट्रहरू विकासको शिखरमा पुगिसके।
इतिहासको पानाका अक्षर : हाम्रो देश भने झन्झन् कमजोर बन्दैछ। सत्ताको खिचातानीले विकासको बाटो थुनिएको छ। नेतृत्व पाए पनि काम गर्ने वातावरण छैन। नेताहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिइएन। कतिपयको मृत्यु अझै रहस्यमय नै छ। विकासका काममा सधैं अवरोधमात्र भयो। समृद्धिको सपना कता हरायो थाहा छैन। समाजमा कुसंस्कार र भ्रष्टाचारमात्र मौलायो। नैतिकता र सदाचारको यहाँ अनिकाल लागेको छ। प्रत्येक १० वर्षमा संविधान फेरिने गर्छन्। अमेरिकाको संविधान १७ सेप्टेम्बर १७८७ मा निर्माण भएको हो। त्यहाँ सातवटा धाराले २४० वर्ष काम गरे। भारतको संविधान पनि ७६ वर्षदेखि अडिग छ।
संवैधानिक खेती, अस्थिर नियति : नेपालमा भने संविधानको खेतीमात्र भयो। २००४ सालदेखि सातवटा संविधान फेरिए। अझै पनि संवैधानिक संकट टरेको छैन। संविधान किन टिकाउ भएन भन्ने प्रश्न छ। २००४ सालमा राणाहरूले संविधान ल्याउन खोजे। तर त्यो प्रयोगमा नआउँदै राणाशासन ढल्यो। २००७ सालमा अन्तरिम शासन विधान आयो। राजसंस्था र नागरिकले मिलेर देश चलाए। २०१५ सालमा नयाँ संविधान जारी भयो। पहिलो पटक प्रजातान्त्रिक संसदीय निर्वाचन भयो। कांग्रेसले १०९ मध्ये ७४ सिट जित्यो। कम्युनिस्ट घटकले जम्मा ४ सिटमात्र पाए। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला बने।
सत्ताको खेल, जनताको भेल : राजा र दलबीच तालमेल मिल्न सकेन। २०१७ सालमा जननिर्वाचित मन्त्रिमण्डल विघटन भयो। महेन्द्रले एकदलीय पञ्चायती व्यवस्था सुरु गरे। २०१९ सालमा पञ्चायती संविधान निर्माण भयो। यसको विरोधमा कांग्रेसले सशस्त्र युद्ध थाल्यो। २०२८ सालमा वामपन्थी शक्तिले पनि हतियार उठाए। २०३६ सालमा विद्यार्थी आन्दोलन चर्कियो। त्यसैले राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे। २०३७ मा पञ्चायतले झिनो मतले जित्यो। त्यसपछि सुधारिएको पञ्चायत एक दशक चल्यो। २०४६ सालको आन्दोलनले पञ्चायत ढाली छाड्यो। देशमा बहुदलीय प्रजातन्त्रको पुनः उदय भयो। २०४७ को संविधानले नयाँ आशा जगायो।
सशस्त्र द्वन्द्वले देशको अधोगति : यो संविधानले पनि पूर्ण रूपमा काम गरेन। २०५२ सालमा माओवादीले सशस्त्र युद्ध थाल्यो। त्यसले देशको सामाजिक र आर्थिक ढाँचा बिगार्यो। १० वर्षको युद्धमा १७ हजारको हाराहारी नेपाली मरे। विकास र समृद्धि ५० वर्ष पछाडि धकेलियो। २०६२÷०६३ को आन्दोलनले फेरि मोड ल्यायो। २०६३ मा अर्को अन्तरिम संविधान जारी भयो। २४० वर्ष पुरानो राजसंस्था सधैंलाई अन्त्य भयो। संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युग सुरु भयो। तर देश झन् अस्थिर र कमजोर बन्यो। युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहे। उद्योग र कलकारखानाहरू सधैंका लागि बन्द भए। प्राकृतिक स्रोतको सदुपयोग गर्ने नीति बनेन।
अधुरो सपना, बिथोलिएको बाटो : २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो। तर समयमा संविधान बन्नै सकेन। २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो। २०७२ असोज ३ मा सातौं संविधान आयो। यो संविधान अहिले पनि प्रयोगमा छ। तर १० वर्षपछि फेरि आन्दोलन भयो। २०८२ सालमा ‘जेन—जी’ पुस्ता सडकमा आयो। भदौ २३ र २४ मा हिंसा चर्कियो। कार्यपालिका र न्यायपालिकाका भवनमा आगजनी भयो। राज्यको अर्बौंको सम्पत्ति दुई दिनमै खरानी भयो। पुरातात्विक धरोहरहरू पनि नष्ट पारिएका छन्। माओवादी युद्धभन्दा ठूलो क्षति जेन—जीले गरे। २०७९ को संसद् बीचमै विघटन गरियो। अन्तरिम चुनावी सरकारले नयाँ चुनाव गरायो।
नयाँ लहर भए पनि पुरानो त्रास : २०८२ फागुन २१ मा निर्वाचन सम्पन्न भयो। राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्यो। २७५ मध्ये यो निकै ठूलो संख्या हो। अहिले नयाँ सरकार छ। प्रत्येक दशकमा हुने यो परिवर्तन अनौठो छ। नयाँ संविधानले पनि स्थायित्व दिन सकेन। जेन—जी आन्दोलन यसैको एउटा ठूलो आक्रोश हो। असंवैधानिक तवरले बनेको सरकारले चुनाव गरायो। नयाँ संरचनाले देशको समृद्धि गर्ला त ? दीर्घकालीन कार्ययोजना बन्नेमा अझै शंका छ। नेपालीको भाग्यमा सधैं प्रतीक्षामात्र लेखिएको छ। जनता अझै पनि कुहिरोको काग बनेका छन्। आशाको दियो कहिले बल्ला भन्ने चिन्ता छ।
रित्तो झोली तर कडा बोली : राजनीतिले जनताको चुलो कहिले बाल्ने होला ? परिवर्तनका नाममा सधैं विध्वंसमात्र भयो। नेताहरू फेरिए तर नीति कहिल्यै फेरिएन। अबको नेतृत्वले पुरानो जड बुझ्नुपर्छ। प्रतिशोधको राजनीतिले देश फेरि खाडलमा जान सक्छ। विकासको सपना देखाएर मात्र पुग्दैन। काम गरेर समृद्धिको ढोका खोल्न ढिला भयो। प्रत्येक १० वर्षमा तरंगित हुने नियति बदलौं। संविधान फेर्ने होइन, अवस्था फेर्ने सोचौं। राष्ट्रिय स्वतन्त्र पार्टीको विजय एउटा परीक्षण हो। यसले जनताको भावना बुझ्न जरुरी छ। नत्र अर्को दशकमा फेरि अर्को विद्रोह होला। नेपाली जनता सधैं आशामा बाँचिरहेका छन्। अब यो आशालाई विश्वासमा बदल्नुपर्छ।
अन्तिम आशा, सुन्दर परिभाषा : नेपालको भूगोल सुन्दर छ तर राजनीति कुरूप। यहाँका हिमाल हाँस्छन् तर जनता रुन्छन्। खोलाहरू बग्छन् तर विकास ठप्प छ। अब त नयाँ बिहानी आउनुपर्ने हो। युवाहरूको आक्रोशलाई सिर्जनामा बदल्नुपर्छ। तोडफोडले होइन, निर्माणले देश बन्छ। पुराना गल्तीबाट पाठ सिकेर अघि बढौं। दसवर्षे चक्रको यो घातक खेल बन्द गरौं। दिगो शान्ति र स्थायित्व आजको माग हो। संविधानको खेती पनि अब बन्द हुनुपर्छ। समृद्ध नेपालको सपना अब पूरा हुनुपर्छ। इतिहासले हामीलाई सधैं गिज्याइरहने त होइन ? त्यसैले आउनोस्, सबै मिलेर नयाँ भविष्य निर्माण गरौं। -अन्नपूर्ण दैनिकबाट साभार






