
गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए । सुन्तला खेती हुने यहाँको माटोमा अधिकांश अम्लीयपना भेटियो । जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लीयपना भेटिएको जनाएको छ ।
जम्मा ७५ किसानले माटो परीक्षण गराएकामा ६९ किसानले ल्याएको माटोमा अम्लीयपना फेला परेको थियो । असन्तुलित मलखादको प्रयोगले माटोको प्राङ्गारिक पदार्थमा कमी आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालले बताए । उनले माटोको सही उपचार गर्न किसानलाई सुझाव दिए ।
जिल्लाका १० स्थानीय तहमध्ये यस वर्ष सात स्थानीय तहमा माटो परीक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको छ । पाँच स्थानमा माटो परीक्षण शिविर सम्पन्न भइसकेका छन् । स्थानीय तहको सिफारिसमा माटो परीक्षण गर्न थालिएको हो ।
प्रमुख सिल्वालले बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा ३०९ किसानले ल्याएको माटोको नमुना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएकामध्ये १७० नमुनामा अम्लीयपना तथा १३ नमुनामा क्षारीय तत्त्व फेला परेको छ । त्यसैगरी १२६ नमुना माटो परीक्षणको रिपोर्ट सामान्य रहेको पाइएको छ।
कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका–२ मा ४३ किसानले ल्याएको माटोको नमुना परीक्षण गरेकामा २८ नमुनामा अम्लीयपना र १५ मा तटस्थ देखिएको छ । बडिगाड गाउँपालिका–६ मा आयोजना भएको माटो परीक्षण शिविरमा ५८ जनाको नमुना परीक्षण गरेकोमा १३ क्षारीय, १ अम्लीयपना र ४४ तटस्थ देखिएको छ ।
ताराखोला गाउँपालिका–२ मा ७५ वटा माटोको नमुना परीक्षण गरिएकामा ५१ माटोको नमुनामा अम्लीयपना र २४ मा तटस्थ देखिएको छ भने जिल्लाको गलकोट नगरपालिका–४ मा ५८ माटोको नमुना परीक्षण गरेकोमा २१ वटामा अम्लीयपना र ३७ वटामा तटस्थ फेला परेको छ ।
‘असन्तुलित मलखादले माटो बिग्रँदै गएको छ, माटोलाई समयमा उपचार गर्न आवश्यक छ, पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घट्नाले माटोमा अम्लीयपना बढी भएको पाइएको छ’, केन्द्र प्रमुख सिलवालले भने, ‘क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्राङ्गारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन आवश्यक छ ।’
अम्लीय माटोमा कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिएको कृषि ज्ञान केन्द्रका अधिकृत जमुना भण्डारीले बताइन् । उनले युरियाको बढ्दो प्रयोगले माटोको अवस्था बिग्रँदो भएकाले नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयोग गर्न सुझाव दिए ।