
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताएका छन् ।
‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उनले सरकारले निजी लागनीकर्तामाझ विश्वास बढाउन सके अर्थतन्त्रको विकास हुने बताए । यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको उनको भनाइ थियो ।
सांसदसमेत रहेका थापाले हरेक क्षेत्रमा खुला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुन सक्नेमा जोड दिए । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा निजी क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राखे ।
नेता थापाले आईटी, सफ्टवेयर, प्रोग्रामिङसँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा पनि जोड दिए । मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने उनले बताए । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा पनि उनले जोड दिए ।
विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउन सकिए लगानी भित्रिने सांसद थापाले बताए । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उनको भनाइ छ ।