Khabar Out
नमुना विद्यालयका विद्यार्थीका हातमा स्मार्ट ट्याब, यसरी हुन्छ पठनपाठन

पाल्पा । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ । 

आफैँ स्मार्ट ट्याब खोलेर पढ्ने सुविधा सायद नेपालमै निजी विद्यालयमा पनि कमै होला । सामुदायिक विद्यालयमा त यस्तो प्रविधि भित्रिएको नहुन पनि सक्छ । पाल्पा रामपुर नगरपालिका–५ बेझाड बजारस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थी हाल स्मार्ट ट्याबको माध्यमबाट अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयमा यस्तो प्रविधि देख्ने जो कोहीलाई लाग्छ, विदेशका विद्यालयका कक्षाकोठामा बसेर पढेजस्तो वातावरण । सोच्दै नसोचेको प्रविधिबाट शिक्षण हुन थालेपछि यतिबेला विद्यार्थी मात्र होइन, अभिभावक, जनप्रतिनिधि, स्थानीय सबैको ध्यान विद्यालयले तानिरहेको छ ।

एउटा कक्षाकोठाभित्र विद्यार्थीका हात–हातमा स्मार्ट ट्याबमात्र नभई रेकर्डिङ स्टुडियो, कम्प्युटर, ल्यापटप, मिक्चर, माइक्रोफोन, भिडियो क्यामेराजस्ता प्रविधि जडान छ । सो प्रविधि रेडियो र टेलिभिजन, रेकर्डिङ स्टुडियोमा देखिन्छ । तर यहाँको विद्यालयमै एउटै कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान गरेर धमाधम शिक्षण कार्य भइरहेको छ । यो कार्य देख्दा विदेशस्थित ठूलाठूला विश्वविद्यालयमा पढेजस्तो लाग्ने गर्दछ ।

subisu

समयानुकूल भित्रिएका प्रविधिलाई अवलम्बन गर्दै विद्यालयले अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा (आइसिटी कक्षाकोठा) निर्माण गरेर विभिन्न उपकरण जडान गरी पठनपाठन गरिरहेको छ । विदेशमा पढाई हुने प्रविधि आफ्नै विद्यालयमा निर्माण भई पढ्न पाउनु नै हाम्रो लागि ठूलो अवसर रहेको छात्रा विविशा घिमिरे बताउँछिन् । उनी आफैँले स्मार्ट ट्याबबाट पढाइसँग सम्बन्धित नयाँ कुरा खोजेर जानकारी लिने गर्छिन् ।

हिजोका दिनमा फुर्सदको समय विद्यार्थीहरु एकापसमा कुराकानीमा समय बिताउने गर्थे भने अहिले खाली समय मिल्नेबित्तिकै आइसिटी कक्षाकोठामा जाने र प्रविधिमै ध्यान केन्द्रित हुन थालेको छ । साना कक्षामा पढ्नेदेखि ठूला कक्षामा पढ्ने विद्यार्थी आइसिटी कक्षामा बसेर पढ्न पाउँदा औधी हर्षित हुन्छन् । यहाँको सुविधा सम्पन्न प्रविधियुक्त कक्षाकोठाको यत्रतत्र चर्चा मात्र नभई अहिले अध्ययन अवलोकन गर्न आउनेको उपस्थिति बढ्दो छ ।

प्रविधिको प्रयोगले पठनपाठनमा सक्रियता बढाउने र आफूलाई दैनिक केही न केही नयाँ कुरा सिक्न र खोज्न मन लाग्ने गरेको छात्र सन्देश पोखरेलले आफ्नो अनुभव सुनाए । यही प्रविधि सिक्नका लागि बाहिर धेरै रकम खर्च गर्नुपर्छ, हाम्रो गाउँघरमा त चाहेर पनि सिक्न पाइने सुविधा छैन तर हामीले विद्यालय तहमा नै आफ्नै पढ्ने महत्वपूर्ण अवसर प्राप्त गरेको उनले बताए । 

प्रविधियुक्त शिक्षाले पठनपाठनलाई सहज मात्र नभई विद्यार्थीलाई केही न केही नयाँ कुरा सिक्न, खोज्न र जानकारी लिन अभ्यस्त बनाएको बताउँछिन्, छात्रा अनिशा श्रेष्ठ । शिक्षकले पढाउँदै गर्दा पाठसँग सम्बन्धित कुराहरु गुगलबाट खोजेर जानकारी लिने गर्दा सिकाइ छिटो बुझिने र सम्झन पनि सहज भएको अनुभूति गरेको उनले सुनाइन् ।

कतिपय विषयवस्तु सैद्धान्तिक शिक्षणले मात्रै बुझाउन नसकिने खालको हुनाले प्रयोगात्मक तरिकाबाट विद्यार्थीलाई बुझाउनुपर्ने भएकाले प्रविधिको प्रयोग गरेर शिक्षण गर्न थालेपछि विद्यार्थीले छिटो बुझ्ने र नयाँ कुरा सिक्न जागरुक हुने गरेको विज्ञान शिक्षक राजन घिमिरे बताउँछन् । पाठसँग सम्बन्धित कतिपय विषयवस्तु प्रयोगात्मक रुपमा प्रविधिको प्रयोग गरेर देखाउनुपर्ने हुँदा शिक्षण कार्यका लागि सूचना प्रविधिको प्रयोग अति अपरिहार्य रहेको उनको अनुभव छ ।

पूर्वबालविकास तह (मन्टेश्वरी) देखि सबै विद्यार्थीलाई प्रयोग हुने गरी कक्षा सञ्चालन गरिएको छ । कक्षा ६ देखि १० सम्मका कम्प्युटर विषय, कक्षा ९ र १० का विद्यार्थीका लागि कम्प्युटर मात्र नभई सबै विषय पठनपाठन भइरहेको छ । साना कक्षाका विद्यार्थीलाई पनि पालैपालो नयाँ प्रविधिबाट पढाउने, सिकाउने कार्य चलिरहेको छ । हाल ५० जना विद्यार्थीले एकैपटक बसेर स्मार्ट ट्याबमा पढ्न मिल्ने व्यवस्था छ । मोनिटरिङ, भिडियो क्यामेरा, प्रिन्टर, ल्यापटप, माइक्रोफोन, मिक्चर, रेकर्डिङ स्टुडियो, सम्पादन कक्षको छुट्टै व्यवस्था, विद्यार्थीले समूह कार्य गर्न तीनवटा प्यानलबोर्ड, एसीसहितको सुविधा सम्पन्न कक्षाकोठा पठनपाठनमा प्रयोग भइरहेको छ ।

शिक्षा मन्त्रालय र आइएसिई कोरियाको साझेदारीमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा निर्माण गरिएको हो । सो प्रविधिसहितको कक्षाकोठा निर्माणका लागि नेपालभित्रका तीनवटा विद्यालय छनोटमध्ये रामतुुलसी नमुना माविसहित बाग्लुुङको ताराखोलामा अवस्थित नेपाल सेकेण्डरी विद्यालयलाई शिक्षा मन्त्रालयबाट स्वीकृत प्रदान गरेपछि नयाँ प्रविधिसहितको कक्षाकोठा निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याइएको छ । करिब रु एक करोड ५० लाखको लागतमा तयार पारिएको विद्यालयले जनाएको छ । अघिल्लो शैक्षिक सत्रमा शुभारम्भ गरेर यस शैक्षिक सत्रबाट शिक्षण कार्यका लागि सञ्चालन भइरहेको छ । यहाँ सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमका कार्यक्रम समेत हुने गरेका छन् ।

कक्षा शिक्षणका क्रममा शिक्षकले पढाउँदै गर्दा विद्यार्थीले तत्कालै प्रश्नको उत्तर गुगलबाट खोजेर आफै पत्ता लगाउने हुँदा उत्तर खोज्न किताबको पाना पल्टाइरहनु नपर्ने र प्रविधिको प्रयोगले पाठसँग जोडिएका नयाँ कुरा आफैँ खोजेर पत्ता लगाउन सक्ने भएको सूचना प्रविधि (आइटी) शिक्षक चन्द्रप्रकाश भट्टराईले बताए। 

अहिलेको २१औँ शताब्दिमा विदेशमा गएरपनि प्रतिष्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न, समयानुकूल आएका प्रविधिलाई अवलम्वन गरी विद्यार्थीको आवश्यकता पूरा गर्न विद्यालय सक्षम बनेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । 

विसं २०७४ देखि नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा घोषणा भएको हो । उच्च शिक्षातर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक धारतर्फ डिप्लोमा इन एग्रीकल्चर बालीविज्ञान कक्षा सञ्चालन भइरहेको छ । आफ्नै गाउँमा बसेर प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जाने र आर्थिक भारको समस्या परेको छैन । हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भएपनि शिक्षामा अब्बल विद्यालय भएकाले खोजेजस्तै पठनपाठन हुने गरेकाले विद्यार्थी रामतुलसी पढ्ने भनेपछि उत्साहित हुन्छन् । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमुना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update