Khabar Out
इरानसँग वार्ताको प्रयासमा भान्स, ट्रम्प सैन्य आक्रमणको तयारीमा

अमेरिका । अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले इरानसँग शान्ति वार्ताको सम्भावना खोज्दै प्रभावशाली नेता मोहसेन रेजाईलाई पत्र पठाएका छन् । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै निर्देशनमा पत्र पठाइएको हो ।

तर, ट्रम्पले भान्सलाई शान्ति वार्ता अघि बढाउन निर्देशन दिएको दाबी अस्वीकार गरेका छन् । उनले भान्सको सम्पर्क इरानलाई चिकित्सा सामग्री उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका पूर्वकमाण्डर रेजाईले इरानका आधारभूत माग पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने बताउँदै आएका छन् ।

यसअघि भान्सले युद्ध लम्बिने जोखिमप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक समाधानको पक्षमा धारणा राखेका थिए । उनले सम्झौताको प्रयासमा दुईपटक विदेश यात्रा पनि गरेका थिए । तर, हर्मुज जलघाँटी हुँदै समुद्री आवागमन सञ्चालन गर्ने विषयमा मतभेद भएपछि भएको समझदारी दुई सातामै भङ्ग भएको थियो । कतार र पाकिस्तानको सहजीकरणमा भएका पछिल्ला वार्ता पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

यसैबीच, ट्रम्पले मध्यावधि चुनावपछि इरानमाथि छोटो र तीव्र सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन् । अमेरिकाले इरानको आणविक कार्यक्रममा छुट मागिरहेको छ भने इरानले तत्काल आर्थिक राहत चाहेको छ । बढ्दो युद्ध र इन्धनको मूल्यले अमेरिकी रिपब्लिकन उम्मेदवारलाई चुनावी चुनौती थपिरहेका बेला भान्समाथि विदेश नीति र घरेलु राजनीतिक जोखिमबीच सन्तुलन मिलाउनुपर्ने दबाब बढेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update