Khabar Out
अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोले घरबास गुमाएर ‘होल्डिङ सेन्टर’, अस्थायी शिविर र आफन्तकहाँ बसेका विस्थापितलाई जिन्सी सामग्री उपलब्ध गराइएको छ । सशस्त्र प्रहरी बल, पुन समाज नेपाल र म्याग्दी उद्योग वाणिज्य सङ्घले बुधबार जिन्सी सामग्री सहयोग गरेका गाउँपालिकाले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँले पठाएको राहत सामग्री गाउँपालिकामार्फत प्रभावित २० परिवारलाई हस्तान्तरण गरिएको गलेश्वर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लुकेन्द्र सुब्बाले जानकारी दिए ।

पुन समाजले घारस्थित वडा कार्यालय परिसरको होल्डिङ सेन्टरमा रहेका पाउद्वारका ११४ जना र शिखमा रहेका किन्दु, घोस्केखोर, घिरवाङका ९१ जनालाई रु सात लाख ९५ हजार मूल्य बराबरको सामग्री वितरण गरेको जनाएको छ ।

समाजका उपाध्यक्ष राजु पुनले दुई ठाउँका २२७ जनालाई एक/एक थान न्यानो कपडा (ब्ल्याङ्केट) र खाद्यान्न उपलब्ध गराएको जानकारी दिए । गिवाङ र नेपानेका प्रभावितलाई बिहीबार तथा सिरुवारीको अस्थायी शिविरमा रहेका राम्चेको महभिरलगायत ठाउँका प्रभावितलाई दसैँ लगत्तै राहत सामग्री वितरण गरिने उनले बताए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घले रु छ लाख मूल्य बराबरको २५ किलोग्राम तौलका ४० बोरा चामल, ४० पोका राहत प्याकेट, ४० कार्टुन चाउचाउ, दुई कार्टुन सनफलावर तेल, ३० सेट सोलार प्यानल र ३६ थान त्रिपाल अन्नपूर्ण गाउँपालिकालाई सहयोग गरेको सङ्घका महासचिव जिसीले जानकारी दिए ।

विपद्मा परी पाँच जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएको गाउँपालिकाका अध्यक्ष भारत पुनले बताए । घार, शिख र सिरुवारीको तीन वटा आश्रयस्थलमा २५५ जना प्रभावितले आश्रय लिएका छन् । थप १५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बसेका छन् । गाउँपालिकाले त्रिपाल र टेन्टको व्यवस्था गरी प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update