काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप रोक्न सरकारसँग माग गर्दै १६ बुँदे प्रस्ताव पारित गरेको छ । काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालाहरूसँगको सम्मेलन तथा बैठकले प्रेस स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन र सूचनाको हकको संरक्षणलगायत विषय समेटेर प्रस्ताव पारित गरेको हो ।
महासंघले जारी गरेको प्रस्तावमा संविधान र प्रचलित कानुनले सुनिश्चित गरेका मौलिक तथा कानुनी हकहरू संकुचित, नियन्त्रित र निर्देशित हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । त्यस्ता गतिविधि तत्काल रोक्न र संविधानको अक्षरशः पालना गर्न–गराउन सरकारसँग जोडदार माग गरिएको छ ।
सम्मेलनले प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने उद्देश्यले प्रस्ताव गरिएको प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गरेको छ । साथै, मिडिया काउन्सिल विधेयक, प्रस्तावित आमसञ्चार विधेयकलगायत सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग व्यापक छलफल, परामर्श र सहमतिपछि मात्रै विधायिकी प्रक्रियाबाट निर्माण तथा जारी गर्नुपर्नेमा जोड दिएको छ ।
महासंघले प्रेस काउन्सिल, पत्रकार तथा आमसञ्चारमाध्यममाथि सरकारी निर्देशनमा भइरहेको गैरकानुनी हस्तक्षेप, निर्देशन र नियन्त्रण तत्काल बन्द गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, त्यसका लागि प्रेस काउन्सिल तथा प्रहरी प्रशासनमार्फत केरकार, धम्की र दबाब दिने कार्य विश्वव्यापी मान्यता, अभ्यास र प्रचलित कानुनविपरीत भएको महासंघको ठहर छ ।
त्यस्तै, सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गराउने तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोज्ने घटनाको महासंघले घोर निन्दा गरेको छ । यस्ता घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।
समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ तथा धरपकड गर्ने, पत्रकारले प्रयोग गर्ने मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार उपकरण नियन्त्रणमा लिने तथा त्यस्ता उपकरणमा रहेका तथ्यांक मेटाउने वा हटाउन बाध्य पार्ने सरकारी रवैयाको अन्त्य गर्न पनि प्रस्तावमार्फत माग गरिएको छ ।
महासंघले पत्रपत्रिकाले पूर्वअभ्यास, अन्तर्राष्ट्रिय मान्यता र प्रचलित कानुनअनुसार प्राप्त गर्दै आएको लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द वा संकुचित गर्ने कार्यप्रति विरोध जनाएको छ । त्यस्ता सुविधा र विज्ञापनलाई निरन्तरता दिन सरकारसँग आग्रह गरिएको छ ।
संघीयताको मर्म र भावनाविपरीत प्रदेशस्तरमा दर्ता भएका सञ्चारमाध्यमलाई संघीय संरचनाबाट नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै महासंघले प्रदेश संरचनामार्फत नै सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन माग गरेको छ ।
यसैगरी, सरकारको स्वामित्वमा रहेका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारहरूलाई बिनाकारण एकैपटक ठूलो संख्यामा हटाइएको भन्दै महासंघले हटाइएका सबै पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको छ ।
सूचनाको हक कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सूचना आयोगलाई लामो समयसम्म नेतृत्वविहीन राखिएकोप्रति पनि महासंघले आपत्ति जनाएको छ । संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन, २०६४ तथा नियमावलीमा व्यवस्था गरिएको सूचनाको हक कार्यान्वयनमा अवरोध नगर्न सरकारलाई आग्रह गरिएको छ ।
सम्मेलनले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न, अदालतमा हुने राजनीतिक हस्तक्षेप र दबाब अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम राख्न सरकारसँग माग गरेको छ । बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हनन भएका अवस्थामा उपचारका लागि अदालत पुग्ने सेवाग्राहीका रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने वा सुनुवाइमा ढिलाइ गर्ने कार्य तत्काल रोक्न पनि माग गरिएको छ ।
प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नहुने व्यवस्था गरिएमा काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न महासंघ बाध्य नहुने प्रस्तावमा उल्लेख छ । यस्तो अवस्था सिर्जना भए महासंघ आफैँले आचारसंहिता जारी गरेर अगाडि बढ्ने घोषणा पनि गरेको छ ।
त्यसैगरी, विभिन्न पेसाकर्मीहरूको पेसागत स्वतन्त्रता तथा निर्वाध र भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । डिजिटल डिभाइडको वर्तमान अवस्थामा निःशुल्क सूचना प्रवाह गरिरहेका एफएम रेडियोमाथि लगाइएको दोहोरो–तेहोरो कर प्रणाली अन्त्य गर्न पनि महासंघले माग गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि साझा धारणा निर्माण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायी, प्रेससँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रस्तावमा उल्लिखित सबै माग तथा प्रस्तावप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको उल्लेख छ ।







