Khabar Out
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबिच कडा प्रतिस्पर्धा

काठमाडाैँ। ब्राजिलमा आइतबार हुने राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेदवारबिचको प्रतिस्पर्धालाई हालैका वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक भिडन्तका रूपमा हेरिएको छ ।

कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच अक्टोबर २५ मा दोस्रो चरण (रनअफ) निर्वाचन हुनेछ । अन्य १० उम्मेदवार चुनावी मैदानमा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान गरिएको छ ।

असी वर्षीय लुला सातौँ पटक राष्ट्रपति पदका लागि चुनाव लडिरहेका छन्। उनी चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ, यद्यपि यसअघि उनका कार्यकाल लगातार थिएनन् । ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिन्छन्।

करिब १५ करोड ९० लाख मतदाता रहेको यस निर्वाचनलाई ब्राजिलको भविष्यको आर्थिक तथा कूटनीतिक दिशासँग जोडेर हेरिएको छ।

बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको प्रमुख आधार बनाए। उनले दुर्लभ खनिजलगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउएका छन्। साथै, सत्तापलटको प्रयाससम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय भोगिरहेका आफ्ना पिता जायर बोल्सोनारोलाई रिहा गराएर राजनीतिमा फर्काउने प्रतिबद्धता पनि जनाएका छन्।

यता, लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आएका छन्। ट्रम्प प्रशासनले ब्राजिलको निर्यातमा उच्च भन्सार शुल्क लगाउने, वासिङ्टनस्थित ब्राजिलका राजदूतको भिसा रद्द गर्ने तथा जायर बोल्सोनारोमाथिको अनुसन्धानसँग सम्बन्धित सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि लुलाले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

आइतबारको मतदानमा राष्ट्रपतिसँगै २७ राज्यका गभर्नर, राज्य विधायिकाका सदस्य, सङ्घीय कङ्ग्रेसका सबै ५१३ सदस्य तथा ८१ सदस्यीय सिनेटका ५४ सदस्य पनि निर्वाचित हुनेछन्।

राजनीतिक विश्लेषक थोमस ट्राउम्यानका अनुसार अन्तिम समयमा उम्मेदवार वा उनीहरूका सहयोगीबाट हुने कुनै पनि गल्तीले अनिर्णीत मतदाताको निर्णयमा प्रभाव पार्न सक्छ। उनका अनुसार ब्राजिलको तीव्र राजनीतिक ध्रुवीकरणका कारण यो निर्वाचन नीतिगत बहसभन्दा आरोप–प्रत्यारोपमा केन्द्रित भएको छ।

चार वर्षअघि लुलाले जायर बोल्सोनारोलाई करिब २१ लाख मतको झिनो अन्तरले पराजित गरेका थिए। त्यसयता महँगी, भ्रष्टाचार र राजनीतिक विवादका कारण मतदाताको धारणा फेरिएको विश्लेषण गरिएको छ।

साओ पाउलोस्थित इन्स्पर विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्लोस मेलोजका अनुसार लुलाको उमेर र लामो राजनीतिक यात्राप्रति केही मतदाता असन्तुष्ट देखिए पनि उनी अझै बलियो प्रतिस्पर्धी छन्। अर्कोतर्फ, भ्रष्टाचारसम्बन्धी आरोप र धार्मिक समूहहरूको आलोचनाले बोल्सोनारोलाई पनि चुनौती थपेको छ। त्यसैले यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने विश्लेषकहरूको अनुमान छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update