Khabar Out
माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर (एबिसी) मा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त केन्द्र स्थापना गरेको हो । गाउँपालिकाको वडा नं ११ मा पर्ने सो स्थानमा नेपाल अन्नपूर्ण रेस्क्यु सेन्टरसँगै प्राथमिक उपचार केन्द्र स्थापना गरिएको हो ।

उपचार केन्द्र सञ्चालनमा आएपछि एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा प्राप्त गर्न सहज हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

“उपचार केन्द्र सञ्चालनसँगै पर्यटकीय क्षेत्रमा स्वास्थ्य सुरक्षाको प्रत्याभूति बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा त्यसबाट सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छौँ”, केसीले भने । गाउँपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकाससँगै स्वास्थ्य तथा सुरक्षासम्बन्धी सेवाको विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

समुद्री सतहबाट चार हजार १३० मिटर उचाइमा रहेको एबिसी पदयात्रामा आउने पर्यटक बिरामी पर्ने तथा हाइअल्टिच्युड (उच्च उचाइ) का कारण लेक लागेर ज्यान जाने गरेको थियो ।

केन्द्रबाट पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, शरीरको तापक्रम र अक्सिजनको मात्रा जाँच, सामान्य चोटपटक तथा घाउको प्राथमिक उपचार, आवश्यक औषधि वितरणलगायतका सेवा उपलब्ध हुनेछन् ।

उच्च हिमाली क्षेत्रमा देखिन सक्ने लेक लाग्ने समस्या, श्वासप्रश्वासमा कठिनाइलगायत आकस्मिक स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन केन्द्रबाट हुने गाउँपालिकाले जनाएको छ ।

गम्भीर प्रकृतिका बिरामी तथा घाइतेलाई आवश्यकताअनुसार थप उपचारका लागि तल्लो क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा पठाइनेछ । विपद्का समयमा उद्धारका लागि सहयोग पुग्ने गाउँपालिका प्रवक्ता भरतमान गुरुङले बताए।

माछापुच्छ्रे आधार शिविरमै रहेको अन्नपूर्ण रेस्क्यु सेन्टरले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा, आपत्कालीन खोजी तथा उद्धारकार्य र प्रविधिको प्रयोगमार्फत दुर्घटना न्यूनीकरणको काम गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update