Khabar Out
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप आठ जनाको शव भेटिएको छ ।

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि सात जनाको शव भेटिएको थियो । हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका छन् । “दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ, ६ शव फूगाउँसम्म ल्याइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “रात परिसकेकाले हेलिकप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।”

नेपाली सेनाको हेलिकप्टरमार्फत आज ती शव ल्याइएको हो । यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको छ।

हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update