काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिक बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।
मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाका प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गर्दै विदेश मन्त्रालय र कानूनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थता प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । उनले दुई साताभित्र परियोजना नरोके समुद्रको कानूनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरणमा जाने बताएका छन् ।
फकल्यान्ड टापुबाट करिब २२० किलोमिटर टाढा रहेको उक्त तेल क्षेत्रमा इजरायली कम्पनी नाभिटास र बेलायती कम्पनी रकहपरले काम गरिरहेका छन् । ती कम्पनीले बेलायतबाट वैध अन्वेषण अनुमतिपत्र प्राप्त भएकाले अर्जेन्टिनाको दाबी अस्वीकार गर्दै आएका छन् ।
अर्जेन्टिना र बेलायतबीच फकल्यान्डलाई लिएर लामो समयदेखि विवाद छ । सन् १९८२ मा भएको १० साताको युद्धमा २५५ बेलायती सैनिक र ६४९ अर्जेन्टिनीको मृत्यु भएको थियो । अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।
अर्जेन्टिनाले उक्त परियोजनाले संयुक्त राष्ट्रसङ्घको प्रस्ताव उल्लङ्घन गरेको दाबी गरेको छ भने बेलायतले फकल्यान्ड नजिकका प्राकृतिक स्रोत आफूले उपयुक्त ठानेअनुसार विकास गर्ने अधिकार रहेको बताउँदै आएको छ ।
यसैबीच, फकल्यान्डका व्यापारिक प्रतिनिधिहरू दुई बन्दरगाहबीच समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न चिलीको पुन्टा एरेनास पुगेका छन् । आर्थिक विकासका उपनिर्देशक लुइस एलिसले नयाँ समुद्री मार्ग तेल परियोजनासँग सम्बन्धित नभएको बताएका छन् । उक्त मार्ग यस वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । रासस






