Khabar Out
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ।

अरुण नदीमा जलसतह बढेपछि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

 

 

आयोजनाको निर्माणाधीन क्षेत्रमा अरुण नदीको पानीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी ड्याममाथिबाट बगेको छ।

निर्माणाधीन स्थायी ड्याममा पानी जान थालेपछि ड्यामको काम तत्कालका लागि रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए। उनका अनुसार हाल उक्त क्षेत्रमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा नदीको पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण हुने बताइएको छ। आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी गरिरहेको जनाइएको छ।

पछिल्लो अवस्थाका कारण आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको हो । निरन्तर नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीमा पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। वर्षाको गतिविधि बढ्दै जाने र जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update