Khabar Out
श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

काठमाडाैँ । श्रीलङ्काको एक अदालतले सन् २०१९ को इस्टर पर्वका दिन चर्च र होटलमा भएको बम विस्फोटको योजना तथा तयारीमा सहयोग गरेको अभियोगमा मङ्गलबार १५ जनालाई दोषी ठहर गरेको छ। घटनामा २६७ जनाको मृत्यु भएको थियो । सोही मुद्दामा अभियोग लागेका नौ जनालाई भने अदालतले दोषमुक्त गर्दै रिहा गरेको छ।

सन् २०१९ अप्रिल २१ मा इस्लामिक स्टेटबाट प्रेरित आत्मघाती आक्रमणकारीले तीन चर्च र तीन होटलमा विस्फोट गराउँदा ४२ विदेशी नागरिकसहित २६७ जनाको मृत्यु तथा ५७४ जना घाइते भएका थिए । प्रत्यक्ष आक्रमणमा संलग्न सबै आक्रमणकारीको मृत्यु भइसकेको छ।

तीन सदस्यीय उच्च अदालतको इजलासले दोषी ठहर भएकाहरूको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ। सन् २०२१ मा २५ जनाविरुद्ध हत्या, आतङ्कवादी गतिविधिको षड्यन्त्र तथा बन्दुक र विस्फोटक पदार्थसम्बन्धी २३ हजार २७० अभियोग दर्ता गरिएका थिए । मुद्दा चलिरहँदा एक अभियुक्तको मृत्यु भएको थियो।

अभियोजन पक्षले प्रतिवादीहरू इसाई र पर्यटकलाई लक्षित सुनियोजित आक्रमणमा संलग्न रहेको दाबी गरेको थियो। अदालतमा प्रस्तुत भिडियोमा आक्रमणकारीले तत्कालीन इस्लामिक स्टेट नेता अबु बकर अल–बग्दादीप्रति निष्ठाको शपथ लिएको देखाइएको थियो । दोषी ठहर भएका एक प्रतिवादी सिरिया पुगेर इस्लामिक स्टेटका लागि लडेको अभियोजन पक्षले जनाएको छ ।

अदालतले केही प्रतिवादीलाई कडा श्रमसहित २०० देखि २६० वर्षसम्मको जेल सजाय सुनाएको छ । धर्मगुरु मोहम्मद इब्राहिम मोहम्मद नौफरलाई २२० वर्ष र मोहम्मद इब्राहिम सादिक अब्दुल्लालाई २४० वर्षको सजाय तोकिएको छ । दोषी ठहर भएकाहरूलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अधिकार छ ।

विस्फोटपछि आक्रमणकारी र राज्यको गुप्तचर सेवाबीच सम्बन्ध रहेको आरोपसमेत लागेको थियो । रक्षा मन्त्रालयले त्यसलाई अस्वीकार गरे पनि संसदीय समितिले प्राप्त पूर्वसूचनामा प्रहरी तथा गुप्तचर अधिकारीले पर्याप्त कदम चाल्न नसकेको निष्कर्ष निकालेको थियो ।

यसै वर्ष पूर्वगुप्तचर प्रमुख सुरेश साल्ली पक्राउ परेका थिए भने पूर्वप्रहरी प्रमुख र रक्षा मन्त्रालयका एक पूर्ववरिष्ठ अधिकारीलाई सम्भावित आक्रमणबारे प्राप्त चेतावनीमा कारबाही नगरेको आरोपमा मृत्युदण्ड सुनाइएको थियो ।

क्याथोलिक चर्चले फैसलाको स्वागत गर्दै घटनाका वास्तविक योजनाकारबारे अझै प्रश्न रहेको बताएको छ । चर्चका प्रवक्ता रेव. जुड क्रिसान्था फर्नान्डोले फैसलाले भविष्यमा यस्ता घटना रोक्न सहयोग गर्ने बताए। अर्का पादरी रेव. दिलान पेरेराले श्रीलङ्का बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक समाज भएकाले धर्मका नाममा हिंसा गर्न नहुने बताए । रासस

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update