भक्तपुर। नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्परासँगै खानपान तथा खाने शैलीका लागि परिचित छ। यस समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा सामूहिक रूपमा सुकुलमा बसेर भोज खाने परम्परा छ। नेपाल भाषामा ‘सुकु भ्वय’ अर्थात् सुकुल भोज भनिने यो परम्परागत शैली पछिल्लो समय विस्तारै हराउँदै गएको छ।
सुकुल भोज विस्तारै मृत्यु संस्कार र गुठीको भोजमा मात्र सीमित हुन पुगेको छ। व्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, विवाहलगायतका शुभकार्य अधिकांश पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन्। सुकुलको स्थान अहिले कुर्सी र टेबलले लिएका छन्।
संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरनका कारण सुकुल भोजको प्रचलन घट्दै गएको बताउँछन्। सुकुल भोजमा लामो समयसम्म पलेँटी कसेर बसेर क्रमशः परिकार खानुपर्ने हुन्छ। वानपिस, स्कर्ट, गाउन, लेहेङ्गाजस्ता आधुनिक पहिरनमा लामो समय बस्न सहज नहुने भएकाले नयाँ पुस्ता आधुनिक भोजतर्फ आकर्षित भएको उनको बुझाइ छ।
समय धेरै लाग्ने, आफूलाई मन परेको परिकार मात्र लिएर खान नपाइने र साथीभाइसँग गफ गर्दै खान नमिल्ने कारणले पनि यो भोज अलोकप्रिय बन्दै गएको अनुमान छ। परालबाट बनेको सुकुलमा लहरै बसेर विभिन्न परिकार खाइने यो भोजको मुख्य उद्देश्य परिवार र आफन्तबिच आपसी आत्मीयता बढाउनु हो।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले नेवार समुदायको मृत्यु संस्कारअन्तर्गत न्हेनुमा (७ दिनमा), लत्या (४५ दिनमा), खुल्हा (६ महिनामा), दाकिला (एक वर्षमा) र वार्षिक मृत्यु संस्कारमा मात्र बढी देखिन्छ। सुकुल भोज हराउँदै जानु भनेको सामाजिक तथा सांस्कृतिक अभ्यास कमजोर हुनु पनि रहेको संस्कृतिविद्हरूको भनाइ छ।
संस्कृतिप्रेमी सत्यराम सुवाल परम्परालाई जीवित राख्न नयाँ पुस्तालाई यसको महत्त्व बुझाएर सहभागी गराउनुपर्ने बताउँछन्। काठमाडौँ र ललितपुरका नेवार बस्तीमा यो परम्परा लोप भइसकेको उल्लेख गर्दै उनले भक्तपुरमा पनि नयाँ पुस्तालाई बुझाउन नसके भविष्यमा यो इतिहासमा मात्र सीमित हुने चिन्ता व्यक्त गरे।
स्थानीय केशव त्वानाबासुका अनुसार पहिला चोक र बाटोमा पाल टाँगेर हप्तादिनसम्म भोज खुवाइने गरिए पनि अहिले त्यो हराएको छ। सुकुल भोजमा लस्करै (झ्वः भ्वय्) बसेपछि सुरुमा चिउरा, छ्यापी, भटमास, साग, आलु तामा, मासु जस्ता परिकार क्रमैसँग पस्कने गरिन्छ। सबैलाई नपस्किएसम्म र माथिल्लो लहरको व्यक्तिले नखाएसम्म कसैले खान नपाउने र सबै परिकारको पालो पूरा नभएसम्म उठ्न नपाउने नियम हुन्छ।
परम्परागत नेवारी भोजमा विभिन्न अन्न, गेडागुडी, सागसब्जी, मासु र दहीको सन्तुलित संयोजन हुने भएकाले यो स्वास्थ्यवर्द्धक मानिन्छ।
प्राचीनकालमा काठमाडौँ उपत्यकामा भोजमा बस्दा धनी र गरिबबिच हुने विभेद हटाउन मल्ल राजा तथा तत्कालीन संस्कृतिविद्हरूले सबैजना परालको एउटै लामो सुकुलमा लहरै बस्नुपर्ने नियम बनाएका थिए। सुकुलमा बसेपछि राजा, मन्त्री, धनी वा गरिब सबैको हैसियत समान हुने सामाजिक समानता र आत्मीयताको भावनाबाटै ‘सुकुल भोज’ को सुरुवात भएको किम्बदन्ती छ।






