काठमाडाैँ । भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना गर्ने १८औँ ब्रिक्स शिखर सम्मेलनमार्फत व्यापार, प्रविधि, स्वास्थ्य, ऊर्जा, कृषि र जलवायु क्षेत्रमा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिने भएको छ । भारतको सन् २०२६ को अध्यक्षता ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयमा केन्द्रित छ ।
सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको ब्रिक समूह दक्षिण अफ्रिका थपिएपछि सन् २०११ मा ब्रिक्स बनेको थियो। सन् २०२४ मा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स तथा सन् २०२५ मा इन्डोनेसिया थपिएपछि अहिले यसमा ११ पूर्ण सदस्य राष्ट्र छन्।
भारतले अध्यक्षताका क्रममा ब्रिक्सलाई राजनीतिक समन्वयमा मात्र सीमित नराखी आर्थिक र विकाससम्बन्धी ठोस सहकार्यको मञ्चका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। यसका लागि लचिलोपन, नवीनता, सहयोग र दिगोपनलाई चार प्रमुख स्तम्भ बनाइएको छ।
आर्थिक क्षेत्रमा ब्रिक्स आर्थिक साझेदारी २०३० को रणनीति, विश्व व्यापार सङ्गठनमा आधारित बहुपक्षीय व्यापार प्रणाली तथा आपूर्ति शृङ्खला सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। साना तथा मझौला उद्यमलाई व्यापार वित्त उपलब्ध गराउन इनभ्वाइस डिस्काउन्टिङ संयन्त्र र सदस्य राष्ट्रका प्रविधि केन्द्र तथा वित्तीय संस्थाबीच सहकार्यका लागि एमएसएमई पोर्टल प्रस्ताव गरिएको छ।
नवप्रवर्तनतर्फ स्टार्टअप इन्क्युबेटरलाई जोड्ने नेटवर्क र नयाँ उद्यमका लागि वित्तीय सहयोग जुटाउने स्टार्टअप इनोभेसन फन्ड प्रस्ताव गरिएको छ । कृषिमा कृत्रिम बौद्धिकता, भू–स्थानिक प्रविधि र डिजिटल पूर्वाधारको प्रयोग तथा बिउ र कृषि सामग्रीमा सहकार्य बढाउने पहल अघि बढाइएको छ।
स्वास्थ्य क्षेत्रमा विश्वव्यापी स्वास्थ्य पहुँच, महामारीको तयारी, डिजिटल स्वास्थ्य र सस्तो औषधिमा सहकार्यसँगै मानसिक स्वास्थ्यका लागि समेत समन्वय संयन्त्र निर्माणको पहल गरिएको छ ।
ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा, हाइड्रोजन, जैविक इन्धन, महत्त्वपूर्ण खनिज र कार्बन कब्जा प्रविधिमा सहकार्य अघि बढाउने योजना छ । जलवायु–लचिलो सहरी पूर्वाधार, हरित वित्त र ऊर्जा सङ्क्रमणलाई समेत भारतले प्राथमिकतामा राखेको छ।
भारतले यी पहललाई शिखर सम्मेलनमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा कार्यान्वयन गर्दै ब्रिक्समार्फत दिगो विकास र विश्वव्यापी शासनमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। रासस






